• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

कीर्तिमान राख्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि



Argentina’s Lionel Messi controls the ball during the Copa America final soccer match against Colombia in Miami Gardens, Fla., Sunday, July 14, 2024. (AP Photo/Rebecca Blackwell)

काठमाडौं । कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ ।

अमेरिकाको मायमीमा भएको भर्खरै सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले कीर्तिमानी १६ औं उपाधि जितेको हो ।

यसअघि उरुग्वे र अर्जेन्टिनाले समान १५-१५ उपाधि जितेका थिए । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै अर्जेन्टिनाले गोल गर्ने मुभ बनायो । तर युलिएन अल्भारेजले बललाई सहि दिशा दिन सकेनन् ।

खेलको ५ औं मिनेटमा कोलम्बियाका लुइज डियाजले प्रहार गरेको बललाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले सजिलै बचाउ गरे ।

१३ औं मिनेटमा कोलम्बियाका कप्तान हामेस रोड्रिग्वेजले कर्नरबाट प्रहार गरेको बललाई कोलम्बियाका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए, तर गोलकिपर मार्टिनेजले सजिलै नियन्त्रणमा लिए ।

२० औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रहार गरेको बल आफ्नै टोलिका अन्भारेजलाई लागेर बाहिर गयो ।

४४ औं मिनेटमा लियोनल मेसीले फ्रीकिकबाट प्रहार गरेको बललाई टालियोफिगोले हेडरमार्फत गोल गर्ने प्रयास गरेपनि उनको प्रहार पोस्टमाथीबाट बाहिरीयो ।

४८ औ मिनेटमा कोलम्बियाका जोन आरियासले प्रहार गरेको बल पोस्टको दाहिनेतर्फबाट बाहिरियो ।

५८ औं मिनेटमा अर्जेन्टिनाका डि मारियाले प्रहार गरेको बललाई कोलम्बियाका गोलकिपर कामिलो भार्गासले उत्कृष्ट बचाउ गरे ।

७६ औं मिनेटमा अर्जेन्टिनाले गोल गरेपनि गोलले मान्यता पाएन । अर्जेन्टिनाका खेलाडी अफसाइड पोजिसनमा रहे ।

निर्धारित ९० मिनेटसम्म दुबै टोलिबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो ।

खेलको ११२ औं मिनेटमा लौटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए ।