• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उहाँले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिनुभएको हो ।

उहाँले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताउनुभयो । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिनुभयो ।

यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।”

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीको समस्याबाट देशभरिका जनताले दु:ख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।”

अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिनुभयो ।  समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “हामी उपत्यकाका बासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौँ ।”

खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो । उक्त अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेललगायतको सहभागिता रहेको थियो । रासस