• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

गोली लागेका ट्रम्पको कस्तो छ स्वास्थ अवस्था ?



एजेन्सी । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।

उनको दाहिने कानमा गोली लागेको छ तर उनी सकुशल छन् । उनी अस्पतालबाट डिस्चार्ज पनि भइसकेको बताइएको छ ।

घटना नेपाली समय अनुसार आइतबार बिहान सवा ४ बजे भएको हो । त्यसबेला अमेरिकामा शनिबार साँझ करिब ६ः४५ बजेको थियो ।

उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो ।

उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।

ट्रम्पले लेखेका छन्, “र्‍यालीमा सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।”

“धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,” उनले थपे ।

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो ।

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए ।

उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुप्स रहेको जनाएको छ ।

ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।