• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्यो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताउनुभएको छ । रोल…

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको बताउनु भयो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको बताउनु भयो । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गर्नुभयो । उहाँले जनताले आफ्नो शक्ति नदेखाए पुन: सरकार माफियाहरुको हातमा जाने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वस्तुत: आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो । हामीले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र भनेनौं, समाजवादउन्मुख राष्ट्र निर्माणको पनि संकल्प गर्‍यौँ । यसको केन्द्रीय सिद्धान्त जनताको सम्प्रभुता हुनुपर्ने हो । बाँकी सबै जनताका सेवक हुनुपर्ने हो । तर, व्यवहारमा त्यो भएन । भीआइपी कल्चर शुरू भयो । एउटा वर्गले सरकारी जग्गा लुटे पनि हुने भयो । तस्करी गरेपनि हुने भयो । कानूून मिचे पनि हुने भयो । यसले आम जनतामा घृणा र आक्रोश बढायो र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था पैदा भयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा, प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाइसकेका थिए । तर मैले त्यो वर्गसँग सम्झौता गरिनँ । म जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने जुन परिस्थिति आज बन्यो, त्यो सरकारले कानूूनको पालना गराउने, विधिको शासन सुरू गर्ने र सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिवद्धताका कारण बन्यो । सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ । सरकारको सुशासन अभियानले हिजोसम्म कानूूनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोश्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो । जनतालाई मेरो अपील छ, जाग्नुस् र तपाईहरूले पनि अब आफ्नो शक्ति देखाउनुस् । जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ ।’

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल