२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौधर नदी धार परिवर्तन गरी बस्तीमा



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन् ।

सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन् । बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताउनुभयो ।

“अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन”, उहाँले भन्नुभयो, “तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठूलो क्षति हुने भय छ ।” बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको छ । बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ । चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन् ।

केही स्थानीयको घरसमेत नदीले बगाएपछि बिचल्ली भएको छ । यता बेल्डाँडी गाउँपालिकामा बाढीले एक हजार पाँच सयभन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताउनुभयो ।

“बाढीले ६ सय परिवारको घरमा भएको अन्न नै बगाएको छ”, अध्यक्ष रानाले भन्नुभयो, “चौधर नदीले बगाएको नहर नबने यहाँ धेरै क्षति हुने त्रास छ ।” यहाँका विस्थापितलाई बेल्डाँडी–२ स्थित मोर्डन केयर बोर्डिङ स्कुलमा राखिएको छ ।

त्यसैगरी, बेलौरीको बाराझाला, भुडा, कानपुर र कलकत्तामा अझै सहज अवस्था भइसकेको छैन । तीन दिनदेखि बेलौरी नगरपालिका–१० भुडाबाट बेलौरी–८ कलकत्तासम्म सडकमा पानी भरिँदा सडक ठप्प छ । बेलौरी नगरपालिका–१० मा चार सय र वडा नं ८ मा एक सय ५० परिवार चौधर नदीमा आएको बाढीबाट प्रभावित भएका छन् ।

बेलौरीका ओमप्रकाश पन्तले तत्काल बस्ती पसेको ठाउँमा मर्मतकार्य नगरिए दुई पालिकाका धेरै वडा थप प्रभावित हुने बताउनुभयो । उहाँले भत्किएका संरचना निर्माणमा स्थानीयदेखि सङ्घीय सरकारलाई सहयोगका लागि गुहारेका बताउनुभयो । तीन वर्षअघि बेल्डाँडी गाउँपालिका–४ गौडी खल्लादेखी–५ मा रहेको भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि पहल भए पनि सुनुवाइ भएन । सिँचाइ आयोजनाले शिवनगर क्षेत्रमा २०५० सालमा निर्माण गरेको मूल नहर मर्मतसम्भार नहुँदा अहिले समस्या भएको छ ।
त्यसैगरी महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले बजेट अभावका कारण क्षति भएको नहर मर्मत गर्न नसकिएको बताउनुभयो । “नहरको अवस्था हेर्दा तत्काल बन्लाजस्तो छैन”, उहाँले भन्नुभयो, “५० मिटर नहरको भाग नदीले बगाएको छ भने एक सय २० मिटर नहरमा क्षति पुगेको छ ।”

सिँचाइ कार्यालयले २०६५ सालमा पनि नहर भत्किएर बाढी गाउँ पस्दा सो क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ । बाढीका कारण मूल नहरमा क्षति पुर्याएकाले तीन हजार चार सय बिघा सिञ्चित क्षेत्रमा पानी सञ्चालन गर्न नसकिने भएकाले तत्काल नहर मर्मतका लागि सिँचाइ विभागलगायत निकायसँग सहयोगको आग्रह गरिएको छ । रासस