९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँचीको मूल्य वृद्धि नहुँदा किसानलाई पिरलो



फाईल फोटो
अ+ अ-

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ ।

चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए । त्यही समयमा अलैँची खेतीमा लगानी पनि बढाए तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका किसान एकाएक निराश बने । “भाउ बढेर रु एक लाखभन्दा माथि पुगेपछि त्यसै वर्ष ऋण लिएर अलैँचीमा लगानी थपेँ, धान मकै फल्ने खेतबारी मासेर अलैँची रोपेँ, तर भने जस्तो भाउ नआउँदा लगानी पनि त्यसै खेर गयो, अन्नपात पनि किनेर जोहो गर्नुपर्ने अवस्था आयो”, सिरिजङ्घा गाउँपालिका–७ खेवाङका अलैँची कृषक राजकुमार भट्टराई भन्नुहुन्छ । 

भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन । भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन् । “एउटै मात्र बजारको भर पर्नुपर्छ, भारतका व्यापारीले जति मूल्य भन्छन् त्यही मूल्यमा अलैँचीको कारोबार गर्नुपर्ने बाध्यता छ, मूल्यमा स्थिरता हुँदैन, राज्यले यसको बजारीकरण र मूल्यको एकरूपताका लागि विशेष पहल गर्न आवस्यक छ”, अलैँचीको कारोबार गर्दै आउनुभएका स्थानीय बुद्ध दाहाल भन्नुहुन्छ । 

हालसम्म नेपालमा उत्पादित अलैँची भारतबाहेकका अन्य मुलुकहरुमा सिधै निर्यात हुन सकेको छैन । अहिले ताप्लेजुङमा प्रतिमनको रु २५ हजार ५०० का दरले किनबेच भइरहेको छ । गएको वर्ष प्रतिमन रु २६ देखि २७ हजारका दरले अलैँचीको कारोबार भएको थियो । चार वर्षअघि प्रतिमन रु एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि जिल्लाका अधिकांश किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलैँची रोपेका थिए । 

पहाडी भूभागमा प्रशस्तै उत्पादन हुने अलैँचीको बजारीकरण र मूल्यमा सुधार गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने र आफुहरुलाई समेत फाइदा पुग्ने अलैँची किसानको भनाइ छ । यता भारतबाहेकका मुलुकमा समेत सिधै निर्यातको वातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यक भएको किसानहरूले बताएका छन् । वर्षौँदेखि अलैँचीको मूल्यमा आइरहने उतारचढावलाई रोक्दै मूल्यमा एकरूपता ल्याउन र बजारीकरणका लागि सरकारले थप पहल गरे आफूहरुको समस्या समाधान हुने कृषकहरुको भनाइ छ ।