२२ भाद्र २०८३, सोमबार
,
Latest
राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी



अ+ अ-

जानकी । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँड्नुभयो । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लाग्नुभयो । यतिञ्जेलसम्म उहाँकी श्रीमती भुटानमा बेचिइसक्नुभएको थियो । यसबारे जानकारी पाएपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो ।

“गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन् । माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुनसकेन । त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ । श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्”, ठकुरीले भन्नुभयो ।

ठकुरीले दिएको जानकारीअनुसार उहाँकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन हुनुभएको थियो । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उहाँको भनाइ छ ।

“श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ । त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो”, गणेशले सुनाउनुभयो,“सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो ।”

सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताउनुभयो । “उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ”, उहाँले गुनासो गर्नुभयो ।

सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गर्नुभयो । “यस खबरले हामी पनि चकित भएका छौँ । उहाँकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन् तर कसरी भुटानमा बेचिनुभयो रु हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ”, वडाध्यक्ष थारुको भनाइ छ,“खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ तर सफल भएका छैनौँ ।”
उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उहाँले बताउनुभयो । “वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ । अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ ।”

ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनि ऊजुरी प्राप्त भए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताउनुभयो । भूटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारूकताका साथ सोधिखोजी गर्ने पनि उहाँले जानकारी दिनुभयो ।रासस