४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

‘गीता’ : जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

‘गीता’ : जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्
अ+ अ-

पलासबारी । आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभिन्थो । 

उहाँमा रोग बल्झिँदै गयो । एक दिन मानिसलाई ढुङ्गा हान्ने, जथाभावी बोल्ने गर्न थाल्नुभयो । कुनै घटना हुने डरले दाजु मिजानु रहमानले डोरीले हात बाँधेर राख्नुपर्यो । त्यसलाई पनि उहाँले चुँडालेर भाग्नुभयो । तीन/चार महिना यसरी बिते । एक दिन अचानक मुर्मुरिँदै घरबाट निस्कनुभयो । “त्यस दिन मोमिनालाई सम्हाल्न छोरालाई पठाएँ, तर भेट्न सकिएन”, रहमानले स्मरण गर्दै भन्नुभयो, “हामीले तीन/चार वर्ष खोज्यौँ, प्रहरी अफिसर श्रीमानले धेरै ठाउँमा खोजी गर्दा पनि पत्तो लागेन ।”

दिन अनि वर्ष बित्दै गयो । बिछोडिएको व्यक्ति नदेखेपछि परिवारका सदस्यबाट याद हराउँदै गयो । परिवारले बिर्सिदै जाँदा उहाँको कष्टकर जीवनको शुरुआत हुँदै थियो । घरबाट निस्किएपछि सडक/सडक भौंतारिनुको विकल्प थिएन । 

मानिसको हप्काइ, छिछी/दुरदुर त छँदै थियो । पटकपटक कुकुरको टोकाइ सहनु पर्यो । पीडा र वेदनासँग पौैंठेजोरी गर्दै दिन बित्न थाल्यो । उहाँको जति पाइलो अघि बढ्थ्यो, जीवन त्यति नै परिवारबाट टाढिँदै गयो । मोमिनालाई कतिपटक रेलमा ठोक्किएर पुनःजीवन पाएको विगतका तीता घटना मानसपटलमा बेलाबेला बल्झिने गर्दछ । उहाँलाई कति दिन भोकै बसेको याद छ, रातमा निन्द्रा नभएको पनि ताजै छ । 

उहाँमा विस्तारै विगतका याद फर्किन थालेको छ । “चितवनको रामनगरमा मात्रै दुई वर्ष बिताएको हुँ, माग्थेँ, शहरका मान्छेले दिन्थे, त्यही खान्थेँ”, पारिवारिक पुनःमिलनका क्रममा भाषानुवादक रोशन पटेलले उहाँको भनाइ उद्धृत गर्दै सुनाउनुभयो । उहाँ नेपाली र हिन्दी भाषा केही बुझ्नुहुन्छ तर बोल्दा बङ्गाली भाषा बोल्नुहुन्छ ।

बिहीबार आफ्नो माइती गाउँ बङ्गलादेशको गाइबन्दस्थित पलासबारीमा पुग्दा पनि साथी/सङ्गीसँग ती कुरा साट्न भ्याउनुभयो । सो ठाउँ राजधानी ढाकाबाट झण्डै ३०० किलोमिटर उत्तरमा पर्छ । उहाँले बङ्गलादेशबाट हिँड्दाहिँड्दै भारत हुँदै नेपाल प्रवेश गरेको पनि सुनाउनुभयो ।

नेपालमा पुगेपछि २०७२ बाट उहाँको नाम फेरियो ‘गीता मानव’ । उद्धारक संस्था मानव सेवा आश्रमले सो नाम दिएको थियो । केही महिनाअघि परिवार पत्ता लागेपछि मात्रै उहाँको वास्तविक नाम ‘मोमिना बेगम’ भन्ने खुलेको हो । एघार वर्षपछि गीता वास्तविक नाम मोमिना बनेर पुनः गृहप्रवेश गर्नुभयो ।

उहाँलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यको उपस्थितिमा पारिवारिक सम्मिलनका लागि बिदाइ गरिएको थियो । उहाँको घर फिर्तीका सबै प्रक्रिया नेपालस्थित बङ्गलादेशी राजदूतावासले मिलाएको थियो । 

दूतावासका कन्सुलर मसुद आलमले घरसम्म पुग्ने आवश्यक प्रबन्धको समन्वय गराउनु भएको थियो । उहाँलाई घरमा पु¥याउन आश्रमका अभियानकर्मी सुशीला केसी र देवेश गुप्ता आउनुभएको थियो । परिवारिक पुनःमिलनका क्रममा देखिएको दृष्यले उहाँहरुलाई भावुक बनायो । बिदाइको क्षणमा मोमिना र केसीलाई छुट्न गाह्रो भएको थियो ।

बुधबार ढाकास्थित अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई लिन भाइ रसिद मिया, छोरा राजु र अलामिन आएका थिए । मध्याह्न विमानस्थल ओर्लिंदा छोराहरुले आमा चिनेनन् । तीन वर्षमा आमाबाट बिछोड भएको कान्छो छोरा अलामिन १४ वर्षका भए । विमानस्थलमा आमा नचिनेर छोराहरु ट्वाल्ल परे । भाइ रासिदलाई देखेपछि मोमिना सम्हालिन सक्नुभएन । 

एक्कासी आँगालो मारेर भक्कानिँदै हर्षका आँसु चुहाउनुभयो । विमानस्थलमा शुन्यता छायो । कर्मचारी र अन्य यात्रु थुम्मिए । वास्तविक घटनाक्रम चाल पाएर बङ्गाली भाषामा नेपालको खुलेर प्रशंसा भयो । उद्धार गरी रेखदेख गरेर निको पारेकामा मानव सेवा आश्रमप्रति नतमस्तक भए । मानवीय कार्य गरेकामा आश्रमलाई अल्लाहले रक्षा गर्ने सुनाए ।

विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराएपछि तत्कालै सुशीला केसी (रुपा) को नेतृत्वमा मानव सेवा आश्रमको टोली पुग्यो । उहाँको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर किरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल अवस्थाबाट उद्धार गरिएको थियो ।

तत्कालै भरतपुर अस्पताल लगेर शल्यक्रिया गरियो तर पनि एउटा औँला भने काटेरै फ्याँक्नु पर्यो । विस्तारै उपचार, माया, प्रेम, थेरापी र परामर्शपछि जीवन फेरिँदै आयो । पुराना कुराहरु मानसपटलमा चल्मलाउन थाले । विस्तारै बोल्न थाल्नुभयो । उहाँलाई आश्रमले गीता मानव भनेर नाम दियो ।

आश्रमकी आमा खिमा काफ्ले उहाँको भाषा बङ्गाली भनेर पत्ता लगाएपछि ठाउँ÷ठेगाना खोज्ने क्रममा बङ्गलादेशी यकिन गरिएको केसी सुनाउनुहुन्छ । त्यसपछि नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत ठेगाना पत्ता लागेको थियो । बङ्गलादेशको गोविन्दगञ्ज जिल्ला, पलसपारि गाउँ बस्ने गीता केही महिनादेखि भर्चुअलमा छोराहरुसँग नियमित कुरा गर्नुहुन्थ्यो । 

उहाँ आश्रममा अन्य बेसहाराको रेखदेखमा खटिन थालेपछि भने परिवारको एक सदस्यझैँ बन्नुभएको थियो । गीतालाई पठाउने मन थिएन तर उहाँको परिवारको खुशीका कारण पुनःस्थापित गराउन आवश्यक थियो । 

यस्तो छ पारिवारिक अवस्था 

बुबा आजिसार रहमानका तीनमध्ये जेठी श्रीमतीबाट मोमिनाको जन्म भएको थियो । उहाँ परिवारको चौथो सन्तान हुनुहुन्थ्यो । तीन छोरा र दुई छोरीकी आमा मोमिनाका जेठा छोरा कादेर मानसिक रोगीका साथ अपाङ्गतासमेत छन् । 

माइलो छोरा राजु र कान्छो अलामिन छन् । छोरी कना र कल्पनाको बिहे भइसकेको छ । दाजुभाइ विभिन्न व्यापार व्यवसायमा संलग्न छन् । श्रीमानले अर्को बिहे गरिसकेका छन् । भाइ रसिद मियाको घरमा बस्ने गरेका दुई छोरा राजु र अलामिनका साथ बस्ने गरी मोमिना भित्रिनुभएको छ । 

माया मारेको त्यही व्यक्ति ११ वर्षपछि टुप्लुक्क आइपुग्दा आफ्नै परिवारलाई अच्चम्म लाग्नु स्वभाविक । बिहीबार बिहान घर भित्रिँदा दाजुभाइ÷दिदीबहिनी भावविह्ल भए । अङ्गालो मारेर खुसी साटे । मोमिनाको पुर्नजन्म भएको भनेर फूलमालाले स्वागत गरे । आश्रमको टोलीलाई पुष्पगुच्छासहित सम्मान दिए । त्यो रात कोही पनि निदाएनन् । उहाँले एक अर्काबाट ११ वर्षका दुःखसुख साटे । मोमिनाले आफ्ना दौंतारी, छरछिमेकको अवस्थाबारे पनि जानकारी लिनुभयो ।

एघार वर्षमा परिवारका सात सदस्य गुमाउँदा….

बिहीबार राति २ बजे पारिवारिक मिलन चल्दै थियो । हर्षका आँशु खस्दै गर्दा मोमिना एक्कासि डाँको छाडेर रुनुभयो । पुनःमिलनकै क्रममा बुबालगायत नजिकका सात जना आफन्तको निधन भएको खबर थाहा पाएपछि उहाँ सम्हालिन सक्नुभएन । एघार वर्षको अन्तरालमा उहाँका बुबा, भिनाजु, बहिनीलगायत नजिकका सात जनाको मृत्यु भएको खबर उहाँका लागि ठूलो घाउ बन्न पुग्यो । उहाँलाई आश्रमकी सचिव केसीले सम्हाल्नुपरेको थियो । 

केही समयअघि काठमाडौँबाट उद्धार गरिएका अर्का तीन बङ्गलादेशीलाई पनि परिवारमा पुनःस्थापित गरिएको छ । भारतबाट आएर बेवारिसे हुने धेरै भेटिइसकेका छन् । आश्रमले उद्धार गरेका पाँच हजारमध्ये २०० विदेशी फेला परेका छन् । त्यसमा ४८ जनाको परिवारमा पुनःमिलन गराइसकिएको र १०० अझै आश्रित रहेको जनाइएको छ ।