• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा



काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।

खेलमा १–१ गोलको बराबरी भएपछि खेलको विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो । खेलको ३५ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले हेडरमार्फत गोल गर्दै अजेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा इक्वेडरलाई बराबरी गर्ने सुनौलो अवसर थियो । तर, कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न चुके ।

उनले देब्रे साइडतर्फ प्रहार गर्दा गोलकिपर इमालेज मार्टिनेज अर्को साइडतर्फ डाइभ गरेपनि बल पोलमा ठोक्किएर गोल हुन पुगेन ।

यता, खेलको इन्जुरी समयमा केभिन रोड्रिग्वेजले बराबरी गोल फर्काउँदै इक्वेडरलाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए ।

पेनाल्टीमा पहिलो प्रहारमै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न चुके । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले लगातार दुई सेभ गर्दै अर्जेन्टिनाको जितमा नायक बने । अर्जेन्टिनाका लागि युलियन मार्टिनेज, गोन्जालो मोन्टियल, म्याक एलिस्टर र निकोलस ओटामेन्डीले गोल गरे ।

यता, इक्वेडरका एंगेल मेना र आलान मिन्डा गोल गर्न चुके भने जोन एवोहा र जोर्डी काइसेडोले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।