२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा



अ+ अ-

खोटाङ ।  जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको हो ।

प्रहरीले गरेको सर्वेक्षणअनुसार १० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका तीन सय २० र पहिरोबाट चार सय ३९ परिवारका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेका छन् ।

मनसुन सुरु भएसँगै प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । उहाँका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ ।

ऐसेखुखर्क गाउँपालिका–१ राखाबाङ्देल र वडा नं ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र वडा नं ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र वडा नं ९ सल्ले तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिला र वडा नं ७ सुङ्देल बाढी तथा डुबानको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिममा जिल्लाका १० वटै स्थानीय तहका अधिकांश वडा रहेका प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १५ विजयखर्क, ऐसेलुखर्क–५ जलेश्वरी, केपिलासगढी–५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाका सबै वडा, बराहपोखरी–२ सुन्तले, वडा नं ३ साउनेचउर र वडा नं ४ फाक्टाङ, खोटेहाङ–६ को इन्द्रेणीपोखरी पहिरोको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोटाङ बजारमा भने पहिरोको जोखिम छैन ।

रावाबेँसी गाउँपालिकाको वडा नं १ कुभिण्डे र वडा नं ३ लामीडाँडा, वडा नं ६ हौँचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नं १ याम्खा, वडा नं ५ सप्तेश्वर छितापोखरी र वडा नं ६ छितापोखरी, साकेला गाउँपालिकाको वडा नं १ बाँझेच्यानडाँडा, वडा नं २ रतन्छा, वडा नं ३ खिदिमा, वडा नं ४ मात्तिमको आहाले र वडा नं ५ कात्तिके पहिरोको उच्च जोखिममा छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा नं १ बाहुनीडाँडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नं ७ महादेवस्थानको महादेवबेँसी र गैरीगुठ, वडा नं ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नं ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नं १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा रहेका प्रहरीको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ । विपद् आइपरेको खण्डमा उनीहरूलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने ठाउँ रहेको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।

प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई घटाउन २४ घण्टे आपत्कालीन सेवा सुरु गरेको जनाएको छ । मनसुन सुरु भएसँगै जिल्ला प्रहरी कार्यालयले १०० नम्बरको ‘हटलाइन’ सेवा सञ्चालन गरेर २४ घण्टे आपत्कालीन सेवा सुरु गरेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । मनसुनजन्य विपद् व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् आइपरेको खण्डमा समितिले जिल्लास्थित स्थानीय तहसँग सहकार्य गरेर उद्धार तथा राहत वितरण गर्ने निर्णय गरिएको समितिका संयोजक एवं प्रजिअ कार्कीले जानकारी दिनुभयो ।  रासस