२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।

यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गर्नुभयो । वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उहाँले सुनाउनुभयो ।

वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ । सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा वाग्मतीको मात्र नभइ मेलम्चीको पानी पनि वितरण गरिन्छ । वाग्मतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव पाँच किमी सुरुङ मार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महाङ्कालस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौँ उपत्यकामा वितरण हुने गरेको छ । हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ । जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् ।

गत सातामात्र मेलम्चीको पानी राजधानीमा वितरण बन्द गरिएको थियो । सुन्दरीजलवासीको खानेपानी समस्या समाधानमा स्थानीय सरकारले लामो समयदेखि मौन बस्दै आएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताउनुभयो ।

केही क्षेत्रको खानेपानी समस्या समाधान भए पनि मुहान क्षेत्र सुन्दरीजलमै समस्या भोग्नुपरेको गुनासो आइरहेको उहाँले स्वीकार गर्नुभयो । लिमिटेडले समयमै काम नगर्दा सुन्दरीजल क्षेत्रमा हिउँदमा पानी नआउने, वर्षामा आउँदा धमिलो आउने गरेको नगरपालिकाले जनाएको छ ।रासस