• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल



photo:RSS

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले संसद ऐन, कानून बनाउनुपर्ने भुमिकामा चुक्दै गएको बताउनुभएको छ ।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद भएपनि संसद नागरिकका ऐन, कानून बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गर्नुभयो । उहाँले सांसदहरुले निर्माण गर्ने ऐन, कानूनले नै देश कता जान्छ भन्नेकुराको निर्धारण हुने भन्दै सांसदहरु ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताउनु भयो । समयमा ऐन, कानून निर्माण गर्न संसदले ध्यान नदिएकोतर्फ सचेत गराउनु भयो । उहाँले नेपाल सबैभन्दा धनी संविधानमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल धनी संविधानमै छ भन्छु म । २००७ सालदेखि अहिलेसम्मका संविधानहरु हेर्ने हो भने धेरै संविधानहरु हामीले व्यहोर्‍यौँ । र पनि मुख्य गरेर २०१५ सालदेखि आम निर्वाचनपछि बनेको संविधान आफ्नै ढंगले जो हामीले उत्कृष्ट र राम्रो पनि गर्‍यौँ । २०१९ मा उत्कृष्ट ल्यायौँ भन्यौँ, २०४८ मा पनि भन्यौँ । त्यसपछि २०६३ सालपछि अन्तरिम हुँदै २०७२ सालमा अहिलेको नयाँ संविधान ल्याएका छौँ । संविधानलाई हेर्ने पनि सबैको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ भन्ने लाग्छ मलाई । यो वर्गीय समाजमा आफ्ना आफ्ना दृष्टिकोण हुन्छन् । मुख्य कुरा संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्नेकुरा, सही र गलत भनेर प्रमाणित गर्नेकुरा त्यो संविधानलाई कार्यान्वयन गर्ने जिम्मा लिएका तपाईं हामी नै हौँ ।

हाम्रो सोच, कार्यशैली, कार्ययोजना र मुख्यगरी नेपाली जनताले अपेक्षा गरेको, चाहेको, खोजेको, हामी जिम्मा लिएर आएका जो नेपाली जनताको उत्कृष्ट थलो प्रतिनिधिको थलो भनेको संसद हो । जो सबै जनताको प्रतिनिधित्व गर्दछ । हामीले निर्माण गर्ने ऐन, कानून कस्तो बनाउने र कस्तो दिशा दिन्छ भन्नेकुराले निर्धारण गर्दछ । अहिले हामी अलिकति त्यसमा कहीँ न कहीँ चुकेका छाँै । समयमा ऐन, कानून निर्माण गर्न भ्याएका छैनौँ । गर्न सकेका छैनौँ । परिस्थितिले दिएको छैन भनौँ वा हामी धेरै सोच र दृष्टिकोणका मानिसको संगालो संसद भएको हुनाले त्यो सबैलाई व्यवस्थापन गरेर अघि बढ्न हामीलाई कठिनाइ भएको छ ।’

अध्यक्ष दाहालले संसदलाई प्रभावकारी बनाउने सांसदहरुको भुमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा,अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिंगो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुनर्पै रहेको बताउनु भयो । उहाँले सांसदहरुले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताउनु भयो ।