८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै



अ+ अ-

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो ।

नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुन:निर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत रु ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिने उहाँको भनाइ छ । वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ ।

“अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।”

गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।

पालिकाले गुफाको बारेमा विस्तुत अवलोकन, थप अनुसन्धान तथा यहाँको विशेषताबारे खोजी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचारप्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ ।

नाग्ममा अर्गानिक कोसेली घर स्थापना

कर्णाली राजमार्ग सडकखण्डको जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्गानिक कोसेली घर स्थापना गरेको छ । जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरण र आन्तरिक तथा बाह्य पर्यटनसम्म अर्गानिक कोसेली सहजरुपमा पुर्‍याउने उद्देश्यले राजमार्गको कालिकोट, जुम्ला हुँदै मुगुसम्मको मुख्य खण्डको नाग्म बजारमा अर्गानिक कोसेली घर स्थापना गरिएको हो ।

कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरी बजारीकरण गर्नको लागि कोसेली घर स्थापना गरिएको सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताउनुभयो । संस्थामा आवद्ध सदस्यहरुको जीविकोपार्जनमा सुधार गर्ने र किसानलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले उक्त कोसेली घर स्थापना गरिएको उहाँको भनाइ छ ।

उत्पादित रैथाने कृषिबाली सिधँै उपभोक्ताको पहुँचमा पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई राहत पुग्ने खत्रीले बताउनुभयो । कोसेली घरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।

स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएकोसहकारी संस्थाले जनाएको छ । सहकारीमा आवद्ध महिला सदस्यहरुले उत्पादन गरेका रैथाने बाली कोसेली घरमा राखिएका छन् । जुम्ला र कालिकोटका महिलाले उत्पादन गरेका वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो । रासस