काठमाडौँ । युरो कप २०२४ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र ‘एफ’ का खेलहरु हुने भएका हुन् ।
दुबै समूहका आठ टोलीले आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । रोचक कुरा के रहेको छ भने समूह ई का खेलहरु नकआउट जस्तै हुनेछन् । किनभने यस समूहका चारै टोलीको ३–३ अंक छ ।
नेपाली समयानुसार एकै समयमा ९ः४५ बजे युक्रेन र बेल्जियम तथा रोमानिया र स्लोभाकिया भिड्दैछन् । यो दुबै खेलका विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ ।
यस्तै, आज मध्यरातमा १२ः४५ बजे जर्जिया र पोर्चुगल तथा टर्की र चेक रिपब्लिक भिड्दैछन् । पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ भने अर्को नकआउट चरणमा प्रवेश गर्ने एक टोलीका लागि तीनै टिम प्रतिस्पर्धामा छन् ।
पोर्चुगलको २ खेलमा २ जितसहित ६ अंक छ । टर्की ३ अंकका साथ दोस्रो स्थानमा छ भने चेक रिपब्लिक १ अंकसहित तेस्रो र समान अंक रहेको जर्जिया पुछारमा छ ।