• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

जहाँ दौडेर राजा बन्ने परम्परा थियो…(फोटो फिचर)



गोरखा । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २, आँपपिपल खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि १४ सय ३७ मिटर उचाइमा छ । सदरमुकामबाट करिब चार कोस टाढा पर्ने लिगलिगकोट ऐतिहासिक स्थल हो ।

यो स्थान दौड जित्ने मानिस एक वर्षका लागि राजा बन्ने परम्पराका लागि प्रख्यात छ । लिगलिगकोट नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । हाल उक्त दरबार नभए पनि दरवारको भग्नावशेष छ । कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन् । मस्र्याङ्दी र चेपे नदीको सँगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा थियो ।

लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रश भएर बनेको विस्वास गरिन्छ । यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिन्छ । यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्न थालिएको हुनसक्ने इतिहासकार तथा स्थानीय वासिन्दा बताउँछन् ।

खस राज्य स्थापना हुनु अघि लिगलिग लगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधिनमा थियो । त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाट नै भएको पाइन्छ । मस्र्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ्ग, खोप्लाङ्गलगायतका नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरूको राय छ ।

प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । १६०३ सालमा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए ।

त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो– दौडबाट राजा छान्ने परम्परा । प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मुल दरवारबाट करीब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो ।

आधुनिक नेपालको एकीकरणभन्दा पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो । इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो । अहिले पनि सत्ताको लागि दौडधुप गरी रहनेहरूलाई फरक रूपमा चित्रण गर्दा ‘लिगलिगे दौडमा छन्’ भन्ने गरिन्छ ।

तर, इतिहासलाई हेर्ने हो भने त्यस बेलाको चलन अनुसार दौड गराएर राजा छान्ने चलन तत्कालीन अवस्था अनुसार प्रजातान्त्रिक र उपयुक्त देखिन्छ । त्यस बेला साना–साना राज्यहरूबीच भई रहने झगडा र लडाइँका कारण राज्यलाई संरक्षण गर्न सक्ने जुक्ति र बल भएका व्यक्तिले राज्यको नेतृत्व गर्नु उपयुक्त हुन्थ्यो । त्यही कारण पनि जो सबैभन्दा फूर्तिलो र सबभन्दा बलियो छ, त्यही व्यक्तिलाई राजाको रूपमा छनोट गर्ने चलन बसेको हुन सक्छ।

दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बने । १३ औं पटकको दौड भने द्रब्यशाहले जिते । दलसुर घले मगरले जित्दै आएको लिगलिगे दौड १६१६ सालमा लमजुङका राजकुमार द्रव्यशाहले दौडेर लिगलिग राज्य आफ्नो हातमा लिएका थिए । द्रव्यशाहको उदयपश्चात् लिगलिगे दौडको परम्परा अन्त्य हुन गयो ।

पहिले लिगलिगकोटलाई ७०० लिगलिग पनि भन्ने गरिन्थ्यो । यसको अर्थ त्यस बेला लिगलिगकोट अन्तर्गत सात सय घर धुरी थिए भन्ने हो । ७०० लिगलिगमा साविक ५ वटा गाविसहरू आँपपिपल, हर्मी, खोप्लाङ, छोप्राक र पालुङटार पर्दथ्यो ।

अहिले पनि लिगलिगकोटमा त्यस समयका कालिका मन्दिर, ५ वटा गढी र दरबारका भग्नावशेष छन्, पुरातात्विक महत्व राख्ने स्थान तथा संरचनाहरू बाँकी नै छन् । यद्यपी लिगलिगकोट यो ऐतिहासिक र पुरातात्विक महत्वमा मात्र सीमित छैन, यहाँको संस्कृति तथा यहाँबाट देखिने र अनुभव गर्न सकिने प्राकृतिक सुन्दरता पनि अलौकिक छ । विशेष गरेर बिहानीको सूर्योदय र साँझको सूर्यास्त, मनोरम हिम श्रृंखलाहरूको दृश्यावलोकन यहाँका आकर्षण हुन् ।यहाँ नेपालको सबैभन्दा ठुलो दाबी गरिएको राष्ट्रिय झण्डा समेत राखिएको छ । जसका कारण पनि पर्यटकहरु का लागि घुमघामको नया गन्तव्य बनेको छ ।

द्रव्यशाह गोरखा राज्यको गद्दीमा आसिन भए पनि उनैका सन्तान पृथ्वीनारायण शाहले साना राज्यहरूको एकीकरण गरी आधुनिक नेपालको जग बसाले । यसै कारणले लिगलिगकोटलाई नेपालको उद्गमस्थल मानिन्छ ।