५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गुरपालनबाट मनग्य आम्दानी



अ+ अ-

घोराही । घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो । उहाँले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उहाँ बताउनुहुन्छ । उमेरले ३५ वर्ष पुग्नुभएका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उहाँले बताउनुभयो । “ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ”, उहाँले भन्नुभयोे, “पैसा पनि राम्रो कमाइने र आफैँ मालिक पनि बन्न सकिन्छ ।”

उहाँको फार्ममा अहिले साना ठूला गरेर ९० बङ्गुर रहेका छन् । झण्डै ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन् । एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयोे, “मेरो आफ्नै पसल पनि रहेको छ, ठूला बङ्गुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन् ।” किसान ठाकुरले पाठापाठीलाई रु पाँच हजारका दरले बिक्री पनि गर्दै आउनुभएको छ ।

मासु भने उहाँले रु तीन सय ८० किलोका दरले दैनिक ८० देखि एक सय २० किलो बिक्री गर्दै आएको बताउनुहुन्छ । बङ्गुरपालन व्यवसायबाट उहाँले वार्षिक रु ६/७ लाख बचत गर्न सफल भएको बताउनुभयो ।

सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट रु ५० हजार ऋण लिएर १० वटा पाठापाठीबाट सुरु गरेको व्यवसायले सोचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उहाँको भनाइ छ । उहाँले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारीसमेत दिनुभएको छ ।

उहाँले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक रु एक लाख तिर्ने गरेको बताउनुभयो । विभिन्न समयमा बङ्गुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भए पनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उहाँको अनुभव छ । अन्य कुनै रोजगार नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उहाँ बताउनुहुन्छ ।

कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उहाँको भनाइ छ । अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उहाँ आग्रह गर्नुहुन्छ । रासस