• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास



काठमाडौँ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाह र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

भारत सरकारको रु तीन करोड ३९ लाख आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवं छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिनेछ । कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवं छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने दूतावासले जनाएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । साथै चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये प्यूठानका दुई वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना छन् । रासस