२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

“उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भन्नुभयो । उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ । 

टोखाबाट चरिबाघको छाला बरामद :  प्रहरीले काठमाडौँको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार)सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संरक्षित वन्यजन्तु चरिबाघको छाला बिक्रीवितरणका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा सुनुवारलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ व्यक्तिसँग प्रहरीले दुई थान छालासमेत बरामद गरेको छ । पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ । रासस