• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्न एमाले सांसद पन्तको माग



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीसँग भएको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

अख्तियारको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै उनले नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने बताए ।

उनले भने,‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन ? छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ । नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् ? त्यो हामीले चिन्न पाउनुपर्‍यो ।’