• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा



भजनी । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उहाँ पुग्नुहुन्छ । ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिएवापत उहाँले मनग्य कमाई गर्दै आउनुभएको छ ।

“काकाको क्यामेराबाट बिदाको दिन पर्यटकको फोटो खिच्ने काम गर्छु । दिनमा रु दुईदेखि तीन हजारसम्म कमाई हुने गरेको छ”, उहाँ भन्नुहुन्छ, “यताबाट कमाएको पैसाले विद्यालय तथा घरखर्च धानेको छ भने नयाँ क्यामेरा किन्न केही पैसा जम्मा गरेको छु । केही पैसा काकालाई पनि दिनुपर्छ ।” उहाँ घोडाघोडीमात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको सुनाउनुहुन्छ ।

अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ । केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन् । दिनप्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन् । एक–दुईजनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जनाभन्दा बढी युवा जोडिएका छन् । घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन् । घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बस्नुभयो । वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्कनुभएका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

साथीभाइको सँगसँगै फोटोग्राफीमा लाग्नुभएका करण देशमा सम्भावना नभएरभन्दा पनि त्यसको पहिचान गर्न नसकेर विदेशिनेहरू धेरै रहेको बताउनुहुन्छ । “विदेशमा बाध्यताको काम हुन्छ, जसरी पनि गर्नैपर्छ । त्यति गरेपछि मात्रै पैसा देख्न पाइन्छ”, उहाँ भन्नुहुन्छ, “कामको प्रवाह नगरेर पैसा कमाउन खोज्दा बिग्रेको छ । आज रु एक दुई लाखको लगानीले विदेशमा कमाउने पैसा यतै कमाउन सकिँदोरहेछ ।”

सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आउनुभएको छ । सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताउनुहुन्छ । “फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै रु १० हजारसम्म कमाई गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “महिनामा रु ६० देखि ७० हजारसम्म कमाई हुन्छ । उहाँले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताउनुभयो ।

फोटोग्राफीसँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुईवटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आउनुभएको छ । “घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको छु”, शाहीले भन्नुभयो, “पर्यटकको रोजाइमा घोडा परेका छन् । जसबाट राम्रो आम्दानी पनि भइरहेको छ ।” उहाँले घोडा चढेबापत रु २५ देखि एक सयसम्म लिने गर्नुभएको छ । अब कर्णाली चिसापानी र टीकापुर उद्यानमा पनि पर्यटकलाई लक्षित गर्दै घोडा राख्ने तयारीमा रहेको शाहीले बताउनुभयो ।

पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ । कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन् । एउटा तस्बिरको फोटोग्राफरले रु २० लिने गर्छन् । कुनै पोशाक लगाएको रु एक सय लाग्छ । “म नेपाली पोशाक लगाएर फोटो खिच्नकै लागि साथीहरूसँग घोडाघोडी आएकी हँु”, टीकापुरकी सुहाना क्षेत्रीले भन्नुभयो, “साथीहरूले यसअघि नै आएर खिचेको फोटो राम्रो लागेपछि म पनि आएकी हुँ । मजस्ता कैयौँ मान्छे सुन्दर तस्बिर खिच्न यहाँसम्म पुग्छन् ।”

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ । त्यहाँ रु १० प्रवेश शुल्क लाग्छ । दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन् । त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाह बताउनुहुन्छ । उहाँका अनुसार वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुङ्गीका लागि अझ विशेष छ । रासस