२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा



अ+ अ-

भजनी । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उहाँ पुग्नुहुन्छ । ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिएवापत उहाँले मनग्य कमाई गर्दै आउनुभएको छ ।

“काकाको क्यामेराबाट बिदाको दिन पर्यटकको फोटो खिच्ने काम गर्छु । दिनमा रु दुईदेखि तीन हजारसम्म कमाई हुने गरेको छ”, उहाँ भन्नुहुन्छ, “यताबाट कमाएको पैसाले विद्यालय तथा घरखर्च धानेको छ भने नयाँ क्यामेरा किन्न केही पैसा जम्मा गरेको छु । केही पैसा काकालाई पनि दिनुपर्छ ।” उहाँ घोडाघोडीमात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको सुनाउनुहुन्छ ।

अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ । केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन् । दिनप्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन् । एक–दुईजनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जनाभन्दा बढी युवा जोडिएका छन् । घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन् । घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बस्नुभयो । वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्कनुभएका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

साथीभाइको सँगसँगै फोटोग्राफीमा लाग्नुभएका करण देशमा सम्भावना नभएरभन्दा पनि त्यसको पहिचान गर्न नसकेर विदेशिनेहरू धेरै रहेको बताउनुहुन्छ । “विदेशमा बाध्यताको काम हुन्छ, जसरी पनि गर्नैपर्छ । त्यति गरेपछि मात्रै पैसा देख्न पाइन्छ”, उहाँ भन्नुहुन्छ, “कामको प्रवाह नगरेर पैसा कमाउन खोज्दा बिग्रेको छ । आज रु एक दुई लाखको लगानीले विदेशमा कमाउने पैसा यतै कमाउन सकिँदोरहेछ ।”

सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आउनुभएको छ । सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताउनुहुन्छ । “फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै रु १० हजारसम्म कमाई गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “महिनामा रु ६० देखि ७० हजारसम्म कमाई हुन्छ । उहाँले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताउनुभयो ।

फोटोग्राफीसँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुईवटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आउनुभएको छ । “घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको छु”, शाहीले भन्नुभयो, “पर्यटकको रोजाइमा घोडा परेका छन् । जसबाट राम्रो आम्दानी पनि भइरहेको छ ।” उहाँले घोडा चढेबापत रु २५ देखि एक सयसम्म लिने गर्नुभएको छ । अब कर्णाली चिसापानी र टीकापुर उद्यानमा पनि पर्यटकलाई लक्षित गर्दै घोडा राख्ने तयारीमा रहेको शाहीले बताउनुभयो ।

पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ । कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन् । एउटा तस्बिरको फोटोग्राफरले रु २० लिने गर्छन् । कुनै पोशाक लगाएको रु एक सय लाग्छ । “म नेपाली पोशाक लगाएर फोटो खिच्नकै लागि साथीहरूसँग घोडाघोडी आएकी हँु”, टीकापुरकी सुहाना क्षेत्रीले भन्नुभयो, “साथीहरूले यसअघि नै आएर खिचेको फोटो राम्रो लागेपछि म पनि आएकी हुँ । मजस्ता कैयौँ मान्छे सुन्दर तस्बिर खिच्न यहाँसम्म पुग्छन् ।”

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ । त्यहाँ रु १० प्रवेश शुल्क लाग्छ । दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन् । त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाह बताउनुहुन्छ । उहाँका अनुसार वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुङ्गीका लागि अझ विशेष छ । रासस