काठमाडौँ– पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालाई दुई दिनदेखि कुहिरोले ढाकेको छ । कुहिरोका कारण मंगलबार दिनभर धुम्म परेको छ ।
उपत्यकामा वायु प्रदूषण पनि दोब्बरले बढेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले जनाएको छ । विभागका अनुसार एयर क्वालिटी इन्डेक्स ४०० को हाराहारीमा पुगेको छ ।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित विभागको भनाई छ ।
काठमाडौँमा हिजोदेखि घाम नलाग्नुको कारण पनि पश्चिमी वायुको प्रभाव रहेको भन्दै मौसमविद् डा ऋषिराम शर्माले काठमाडौँ उपत्यकाको वायु पनि धेरै खराब रहेको बताएका छन् ।
जनस्वास्थ्यविदहरुले वायुमण्डलमा धुलोका कण बढी रहेको र यो मानव स्वास्थ्यलाई घातक रहेकाले घरबाहिर ननिस्कन सुझाव पनि दिएका छन् । मानिसहरुले आँखा पोल्ने समस्या झेल्ने गरेको र श्वासप्रश्वासका बिरामीको संख्या अस्पतालमा बढ्न थालेको पाटन अस्पतालले जनाएको छ ।











