• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

झोलुंगे पुल फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटालाई बचाउन सकिएन



काठमाडौँ । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ९ वटा खच्चडको सकुशल उद्धार गरिएको छ ।

उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

खच्चडहरुलाई जाली काटेर नदिमा खसाइएको छ । ती मध्ये केही पौडिएर नदीको किनारमा आएका छन् भने केहीलाई डुङ्गाका माध्यमबाट नदीबाट बाहिर ल्याएर उद्धार गरिएको हो ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोड्ने झोलुङ्गे पुलको जाली लत्रिएको हो ।

आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको थियो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ ।

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए ।