३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन



अ+ अ-

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।

बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।

केरा पकेट क्षेत्रको रुपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताउनुभयो । उहाँका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ ।

केराको रेशाबाट पुन:प्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताउनुभयो । “हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ”, उहाँले भन्नुभयो ।

तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गर्नुभएको थियो । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिनुभयो ।

केराको थामबाट बनेका सामग्री प्राकृतिकरुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ । रासस