बिहान उठ्नेबित्तिकै घरबाट तीनघण्टाको दूरीमा रहेको पूर्वतर्फको डाँडामा पृथ्वीनारायणको दरबार देखिन्थ्यो । कक्षा ५ मा पढ्दा कालिकादेवी र गोरखनाथ बाबाको दर्शन गर्ने क्रममा उनी जन्मिएको दरबार प्रत्यक्ष देखेँ । विद्यार्थी जीवनमा इतिहास पढ्दा उनका योगदान अब्बल लाग्थ्यो अझैँ नयाँ खोजौँ, नयाँ जानौँ, नयाँ पढौँ भन्ने कौतुहलताले उत्साही बनाउँथ्यो । कलेज जीवन र त्यसपछिको लेखन यात्रामा यो भोक र इच्छाले मलाई अझैँ जगायो । नेपालको विगत र वर्तमानका साथै पुर्खाको भूत र नेताको आज देख्दा पृथ्वीनारायण शाह औषधि हुन सक्छन् भन्ने लाग्यो । पृथ्वीका भनाईसँग हाम्रो जीवन र राष्ट्रको वर्तमानको तुलना गर्न थालेँ ।
पृथ्वीले भनेका थिए– नेपाल सबैजातको फूलबारी हो, जनतालाई मोटो बनाउनुपर्छ, घुस खाने र दिने दुबै राष्ट्रका शत्रु हुन्, खेतीयोग्य जमिनमा खानी भए पनि अन्यत्र सार्नु, विदेशीले गुप्तकुरा बुझ्न अनेक प्रपञ्च गरेर प्रवेश गर्ने छन् त्यसलाई रोक्नु, कुलधर्म नछोड्नु, सिमाना चनाखो भएर रक्षा गर्नु, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु, सीप सिकेर स्वदेशमा नै सदुपयोग गर्नु, राज्यलाई टुक्रा होइन एकाकार पार्नु । अहिले यी उपदेश कसैले न त सम्झन्छ, न त पालाना नै गर्दछ । नेपालको इतिहासमा यसलाई कार्यान्वयन गराउन महेन्द्रले खोजे त्यसपछि कसैको ध्यान यता गएकै देखिएन ।
१० वर्षे जनयुद्धपछि शान्ति सम्झौतामा पुग्यो । पृथ्वीनारायणले भनेका थिए– सैनिकलाई तिखारी राख्नु, युद्धमा मारिएका सिपाहीका सन्तानको भरणपोषण गर्नु तर हाम्रा नेताले के यो काम गरे त ? पृथ्वीनारायणले भने– आफ्नालाई भन्दा जनताले रुचाएकालाई जिम्मेवारी दिनु, अड्डा अदालतलाई चोखो राख्नु आज यी सिद्धान्त अलपत्र परेका छन् ।
पृथ्वीनारायणले भने– सिमानाको सुरक्षा गर्नु, खनिज उत्खनन् गरी राष्ट्रलाई स्वनिर्भर तुल्याउनु । उनको नेतृत्वले एकीकरण गरेको नेपालमा पृथ्वीविचार, पृथ्वीसिद्धान्त एउटा पनि लागु भएन । के पृथ्वीले नेपाल एवं नेपालीको कल्याण चिताएनन् र ?
सौभाग्य नै भनौँ, लामो समयसम्म परम श्रद्धेय, प्रातःस्मरणीय गुरुदेव सं. डा. स्वामी प्रपन्नाचार्यजी महाराजको श्रीचरणमा रहेर अनेकौँ तथ्यपूर्ण घटनाहरू देख्न, सुन्न र बुझ्न पाएँ । यही समयको एउटा घटना याद आउँछ । नेपालको भविष्य एवं पितापुर्खाको बलिदानीका विषयमा पीडा पोख्न, समाधानको उपाय खोज्न अनेकौँ महानुभाव गुरुदेवकहाँ आउँथे । यही क्रममा एकदिन तात्कालिक राजपरिषद्को कार्यालय (हाल निर्वाचन कार्यालयमाथि) मा नुवाकोटतिरका एक महानुभाव पृथ्वीनारायण शाहले उनका पुर्खाबाट नगद ऋण लिएको कागज गुरुदेवलाई देखाउँदै यसको अहिलेसम्मको व्याज, साँवा तथा केही हर्जना दिनुपर्यो भन्दै ती आगन्तुकले थपे “त्यतिबेला त्यो रकमले काठमाडौँमा अनुमानित ३० रोपनी जग्गा किन्न सकिन्थ्यो, त्यसलाई सूक्ष्म विश्लेषण गरेर रकम पाऊँ । यदि हजुरले ज्ञानेन्द्र सरकारलाई भन्नुहुन्छ भने म सर्वोच्च अदालत जान्छु” ।
गुरुदेवले ती महानुभावलाई भन्नुभयो “खड्काजी । तपाईंको यो कागजका सत्य देखिन्छ । छिट्टै ज्ञानेन्द्र सरकारसँग मेरो दर्शनभेट हुनेवाला छ । फोटोकपी लगेर म कुरा गरौँला तर ती पुर्खाका सन्तति त अहिलेसम्म निकै सङ्ख्यामा भए होलान् । सबैलाई बटुल्नुहोस् । भोलि अर्काले फेरि हामी पनि हकदार हौँ भनेर बखेडा निकाले भने के गर्ने ?”
ती महानुभावले भने “कसैलाई पनि यो कुरा थाहा छैन, कसैसँग यसको फोटोकपीसमेत छैन । यो सबै दुःख मैले गरेँ, ती घर बसेकालाई म रकम किन दिन्छु ?”
गुरुजीले उहाँलाई भन्नुभयो “तपाई त फटाहा पो हुनुहुँदोरहेछ । यो कागजसहित चौकीमा बुझाउँछु ।”
त्यसपछि ती महानुभाव मलिन अनुहार बनाएर बाटो लागे र कहिल्यै देखा परेनन् । त्यो कागज उनले के गरे ? थाहा भएन । इतिहास बेच्ने, इतिहास नष्ट गर्ने यो एउटा प्रतिनिधि घटना हो । गुरुजीकहाँ पुराना कागजपत्र देखाउन ल्याउँथे र पैसाको लागि घुमाउरो तरिकाले कुरा गर्थे । गुरुजीले “म छपाई दिन्छु कि त पुरातत्व विभागमा दिनुहोस्” भनेपछि आउन नै छोड्थे । यसरी इतिहासलाई हामीले नै बेचेका छौँ, लुटेका छौँ, नत्र हाम्रा इतिहास र पुरातत्वले युरोपसम्म कसरी पखेँटा हालेर पुग्थे । सत्यतथ्य बुझ्न परेको खण्डमा हामीसँग दस्ताबेज नै पाउन मुस्किल छ ।
जताततै इतिहासको पोका भएर पनि अरुले भनेको हावादारी गफलाई तथ्य सम्झनुपर्ने अवस्थाले किचिएनुपर्ने दुर्दशा छ । शिलालेखहरू टुट्ने फुट्ने, ताम्रपत्रहरू गुन्द्रुकको भाउमा बिक्ने, ताडपत्रहरु मक्किने, लालमोहर किराले टोक्ने गरेको देखेर, सुनेर मेरो मन दुख्थ्यो, चित्त फाट्थ्यो, हृदय छियाछिया हुन्थ्यो । पुराना हस्तलिखितग्रन्थहरू कि त मरेपछि उसैसँग जलाई दिने, कि त डोका, थुन्सेमा राखेर कुहाई दिने, कि त अर्थसँग साटिदिने क्रमले हामी इतिहासमा दरिद्र एवं परनिर्भर हुनुपरेको छ । गोरा छालावालाले लेखेको कथालाई नै ब्रह्मवाक्य मान्ने रोगका साथै क्रान्तिकारी बन्ने आसले विना प्रमाण इतिहासलाई अतिरञ्जित गर्ने महामारी उस्तै बढेको छ ।
पृथ्वीनारायणले जनता र सैनिकमा राष्ट्रभक्तिको के खाँडो जगाए ? जसले भीमसेन थापाको पालासम्म नेपाल विस्तारका लागि लडिरहे । पृथ्वीनारायणले जग राखेको सेनाभित्र आजसम्म अन्यको तुलानामा विकृतिले प्रवेश पाएको छैन । उनको एकीकरणमा जनता, सेना र राजपरिवार नामका तीन ब्रह्मास्त्रबीच साह्रै राम्रो समन्वय थियो । गुप्तचर, विद्वान्, सेना, साधुसन्त आदिको उचित परिचालन र सदुपयोग आधुनिक इतिहासमा कि त पृथ्वीनारायणको पालामा कि त महेन्द्रकै शासनकालमा भएको पाइन्छ । उनको निर्णय क्षमता, कार्यशैली हुबहु राजा महेन्द्रले अपनाए भन्दा फरक पर्दैन ।
नेपालको आधुनिक इतिहासलाई राम्रोसँग हेर्ने हो भने पृथ्वीनारायण र महेन्द्रमात्र राजाका रुपमा जन्मिएर नेपालको गरिमा बढाए । इतिहासका पाना पल्टाउँदा, पृथ्वीनारायण र राजा महेन्द्रका धेरै पक्षमा समानता देखिन्छन् । राष्ट्रको अस्मिता जोगाउन सेना र प्रहरीको ठूलाे भूमिका हुन्छ । पृथ्वीनारायणले जसरी सेनालाई व्यवस्थित र संगठित बनाएका थिए, त्यसरी नै राजा महेन्द्रले प्रहरीलाई स्थायी बसोबास र राशनपानीको प्रबन्ध गराए । कीर्तिपुरको पहिलो युद्ध र एकपटक नुवाकोट जाँदै गर्दा पृथ्वीनारायण शाहलाई झन्डै मारिएको थियो । राजा महेन्द्र पनि जनकपुर भ्रमणमा हुँदा झन्डै बमको शिकार बन्नुपरेको थियो ।
पृथ्वीनारायणले गोरखाली फौजहरूबाट मारिएका शत्रुहरूको परिवारको खानपान र बसोबासको पनि राम्रो हेरविचार गर्दथे । जस्तै नुवाकोटमा गोरखाली सेनाबाट मारिएका जयन्त राना एवं शत्रमणिका परिवारलाई गाँस, बासको व्यवस्था गरेका थिए । यही स्वभाव राजा महेन्द्रको पनि थियो । प्रजातन्त्र अपदस्थ गर्दा शिकार बनेका नेताका परिवारलाई उनले दुःख दिएनन् । राजा महेन्द्र र वी.पी. बीच कुरा मिलेन तर महेन्द्रले जेलमा बसेका वी.पी.को स्वास्थ्य, खानपान तथा बसोबासका बारेमा निकै चासो दिन्थे । कैयौँपटक सुन्दरीजलको जेलबाट वी.पी.लाई नारायणहिटी ल्याएर रातभरि छलफल गरी बिहानको मिर्मिरेसँगै सुन्दरीजल पुर्याएको कुरा गुरुदेवका श्रीचरणमा रहँदा सुन्न पाएको थिएँ । अहिले पनि जीवित रहेका राजा महेन्द्रका डाक्टर, सुरक्षाकर्मी एवं पूर्वमन्त्रीहरूलाई यी विषयमा राम्रो जानकारी छ ।
पृथ्वीनारायणका समकक्षी तात्कालिक विàका शासकहरूमा जुन साहस र बौद्धिक तागत देखिन्छ, तीभन्दा उनी पनि कम थिएनन् । यो विशेषता राजा महेन्द्रमा पनि भेटिन्छ । पृथ्वीनारायणले राखेको एकीकरणको जगमा बहादुर शाह र राजेन्द्रलक्ष्मीले ठूलो परिश्रम गरी नेपालको स्वरूप निर्धारण गरे । चन्द्रशमशेरले नेपाललाई अङ्ग्रेजको दृष्टिमा छुट्टै राज्यको दर्जा दिलाए भने राजा महेन्द्रले विभिन्न कानुन, भूगोलको नक्शा र आन्तरिक रेखाङ्कन गरी नेपालको सार्वभौमलाई सबल तुल्याए । पृथ्वीनारायण शाह सात महिनामा जन्मिए तर राजा महेन्द्र उनका बाबुआमा क्रमशः १४ र १३ वर्षको उमेर हुँदा नै पैदा भए । महेन्द्रको जन्म वि. सं. १९७७ जेठ २९ गते भएको थियो जब कि श्री ५ त्रिभुवनको जन्म वि. सं. १९६३ असार १७ मा भएको हो । आयुर्वेदका ग्रन्थहरूले भनेका छन् “बाबुआमाको उमेर जोड्दा ३० वर्ष नकट्दै बच्चा जन्मियो भने कि त तुरुन्तै मर्छ, कि त अपाङ्ग हुन्छ, कि त महाराजा हुन्छ ।” यही नियम सात महिनामा जन्मिएको बालकमा पनि लागु हुन्छ । यस्तो संयोग त्यसअघि र पछिका राजाहरूमा देखिएन ।
पृथ्वीनारायण शाहका दुईवटा श्रीमती थिए, एउटीबाट सन्तान नै जन्मिएनन् । राजा महेन्द्रका पनि त्यही अवस्था भयो । इन्द्रराज्यलक्ष्मीबाट सन्तान जन्मिए पनि रत्न सरकारबाट जायजन्म भएन । अन्य राजाहरूका रानीहरूबीच झगडा एवं उत्तराधिकारी आफ्नै सन्ता हुनुपर्नेमा विवाद हुन्थ्यो तर यी दुई राजामा कहिल्यै यस्तो दुर्भाग्य देखा परेन । पृथ्वीनारायण शाह सन्तान प्रेममा भन्दा राष्ट्रप्रेममा लिप्त थिए । महारानी नरेन्द्रलक्ष्मीका कोखबाट वि. सं. १८०८ मा प्रतापसिंह शाह जन्मदा पृथ्वीनारायण शाह गैडीथुमको युद्धमा थिए । पुत्रको मुख हेर्न तत्काल गोरखा आएनन् भन्ने आरोप लगाएका थिए ।
राजा महेन्द्रले जनता र राष्ट्रको मर्म बुझ्न देशाटन गरे । कतै शिकारको बहानामा, कहिले तीर्थाटनको सन्दर्भमा, कतै प्राकृतिक सुन्दरताको दर्शन गर्ने योजनामा तर यर्थाथमा उनी भूगोल बुझ्न र जनतासँग निकट हुन चाहन्थे । पृथ्वीनारायण शाहजस्तै राजा महेन्द्र पनि अन्य राजाहरूको तुलनामा राष्ट्रप्रेममा लिप्त थिए, स्त्रीमोहबाट ग्रस्त थिएनन् । यी दुवैले अरूको रायसल्लाह लिन्थे अनि सतसत् विचार गरी निर्णय आफ्नै तरिकाले गर्दथे ।
पृथ्वीनारायणले कीर्तिपुरको पहिलो युद्ध र महेन्द्रले वी.पी लाई नजरबन्दको घटनाले यसलाई पुष्टि गर्छ । स्वदेश र विदेशमा गुप्तचर खटाउन पृथ्वीनारायण शाह जति चतुर थिए, त्यो स्वभाव महेन्द्रमा पनि थियो । पृथ्वीनारायणले गाइने, जोगी आदिका भेषमा शत्रु राज्यको सत्यतथ्य बुझ्न पठाउँथे । महेन्द्रको पालापछि नेपालमा गुप्तचरको परिचालन यो रूपमा कहिल्यै भएन । पृथ्वीनारायण शाहले आफ्नो बुबाको देहान्त (वि. सं. १७९९) भएको केही महिनापछि नै बनारस यात्रा गरेर तात्कालिक भारतको अवस्था एवं अङ्ग्रेजको रणनीति बुझेका थिए । राजा महेन्द्र पनि वि. सं. २०११ चैत्र ३० गते राज्यारोहण भएपछि वि. सं. २०१२ कार्तिक ३० गते नै ३६ दिने भारत भ्रमणमा निस्किएका थिए ।
यो भ्रमणले महेन्द्रलाई बेलायतको प्रशासन, भारतको अवस्था र नेपालले अब खेल्नुपर्ने भूमिकाको बारेमा राम्रो ज्ञान हासिल भएको थियो । पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दूस्थान भनेका थिए भने राजा महेन्द्रले कानुनी रूपमा पहिलोपटक नेपाललाई हिन्दूराज्य घोषण गराएका थिए । महेन्द्रले भारत भ्रमणका क्रममा विभिन्न तीर्थस्थल, देवस्थलमा पूजा, पाठ गरेर हिन्दू सम्राट भएको सन्देश प्रवाह गरे । यसपछि नै भारतको महेन्द्रलाई हेर्ने दृष्टि शङ्गास्पद हुन थाल्यो ।
महेन्द्रले भूमिसुधार लागु गरे यसबाट आफन्त नै चिढिए । भूमिमाथिको अत्यधिक पहुँच त्यतिबेला अधिकांश शाह र राणापरिवारमा थियो जो उनका घरपरिवार, मावली र ससुराली भित्रकै थिए । राष्ट्रहितका अगाडि आफन्तको लाभहानिलाई राजा महेन्द्रले ध्यान दिएनन् । काठमाडौँ उपत्यका विजय गरेपछि केही स्थानको राजा बन्न पाउने माग पृथ्वीनारायणका भाइहरूले राखेका थिए । सुदूर भविष्यसम्मको विचार गरी, विगतबाट पाठ सिक्दै पृथ्वीनारायणले भाइहरूलाई राज्य बाँडेनन् । यसपछि भाइहरूले पृथ्वीनारायणको साथ छोडिदिएर कोही पाल्पातिर, कोही अन्य शत्रुराज्यतिर लागेर असहयोग गर्न थाले ।
पृथ्वीनारायण शाहले अङ्ग्रेजलाई आफ्नै स्रोत, साधन र जनबलबाट धपाए, विदेशी सहयोगको अपेक्षा गरेनन् । मन्दविषरूपी अङ्ग्रेजसँग जयप्रकाशले गोरखालीसँग मुकाबिला गर्न आवश्यक पर्ने सैन्यशक्तिको सहयोग गरिदिन निवेदन गरेका थिए । राणालाई धपाउन राजा महेन्द्रका पिताले भारतको सहयोग लिए । भारतले जब नेपालमाथि अनावश्यक चासो दिन थाल्यो, यसबाट मुक्ति पाउन राजा महेन्द्रले न त चीनको, न त बेलायतको साथ मागे । आफ्नै बुद्धि र औकातअनुसार भारतलाई सभ्य र कूटनीतिक उत्तर दिए । पृथ्वीनारायणलाई बेलायतले र महेन्द्रलाई भारतले न त बुझ्न सक्यो, न त तौलन सक्यो । पृथ्वीनारायणलाई अत्याउन एवं एकीकरणलाई असफल पारिदिन अङ्ग्रेजले जस्तै महेन्द्रलाई गलाउन भारतले नेपालका विभिन्न पार्टी र व्यक्तिलाई हात लिएर दुःख दिने प्रयास गर्यो । राजा महेन्द्रले भारतलाई नमस्कार गरेनन्, बरु माटोलाई शिरमा, जनतालाई हृदयमा राखेर मुक्तिका लागि आफ्नै उपायहरूको कार्यान्वयन गराए । नेपालको इतिहासमा विदेशी र स्वदेशी दलालको शिकार नबनेका राजा कि त पृथ्वीनारायण हुन्, कि त राजा महेन्द्र नै ।
पृथ्वीनारायणलाई आफ्ना छिमेकीराज्यहरू लमजुङ, तनहुँ, कास्की, पर्वतका साथै विश्व परिवेशका बारेमा राम्रो जानकारी थियो । महेन्द्रको पालामा भारत र चीनको अवस्था उही थियो । दुवैलाई समदुरीमा राखी नेपाललाई अन्ताराष्ट्रिय क्षेत्रमा आफैंले चिनाए र बाह्य हस्तक्षेपलाई उचित व्यवस्थापन गरे । पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्रनीतिको जन्म गराए । उनले पहलकदमी नउठाएका भए अहिले भोगिरहेको हस्तक्षेप वा दुरावस्था त्यतिबेला नै आइसकेको हुने थियो अझ प्रष्ट भाषामा भन्नुपर्दा यो राष्ट्र त्यतिबेला नै सिक्किमीकरण, काश्मिरीकरण वा टुक्राटुक्रा हुन पनि सक्थ्यो ।
पृथ्वीनारायणले मौका पर्नसाथ राष्ट्रको स्वाभिमान बढाउने, शान तथा मानलाई उच्च बनाउने काम गर्थे । राजा महेन्द्रले पनि कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएर नेपालको उत्तरी चेकपोष्टबाट भारतीय सेना हटाउन लगाए । विशेष अवसर पारेर राष्ट्राध्यक्षका रूपमा विभिन्न राष्ट्रको भ्रमण नेपालको पहिचान र परिचयको प्रवाह गरे । पृथ्वीनारायणले कालु पाँडेलाई अचानक गुमाउनुपर्यो र त्यसपछि उनीजस्ता शूरवीर एवं दीर्घकालिक सोचविचार तथा क्षमताका प्रधानमन्त्री वा सेनापति पाएनन् । राजा महेन्द्रले पनि दुईतिहाई बहुमत प्राप्त दक्ष र कुशल तात्कालिक प्रधानमन्त्री वी.पी.लाई अपदस्थ गरे । त्यसपछि उनलाई जोडा मिल्ने सुयोग्य प्रधानमन्त्री पाएनन् ।
पृथ्वीनारायणका नाति रणबहादुर शाह सुरक्षाको घेरामा हुँदा पनि उनकै भाइ शेरबहादुर शाहबाट मारिए । महेन्द्रका नातिहरू दीपेन्द्र र निराजन पनि वि. सं. २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा परलोक भए । पृथ्वीनारायणको नाति रणबहादुर शाहमा जस्तै महेन्द्रका पनि नातिहरूमाथि अनावश्यक कलङ्क थोपरियो । पृथ्वीनारायण शाहले उचित व्यक्तिलाई सम्बद्ध स्थान र जिम्मेवारी दिन्थे । विराज बखेतीलाई जिम्मेवारी दिने विचारमा रहेका पृथ्वीनारायण शाहले जनता र छिमेकी राज्यको इच्छा कालु पाँडेलाई भएपछि त्यही काम गरे । राजा महेन्द्रले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपाल बोलाएर प्राज्ञिक सदस्य, विभागीय प्रमुख, सचिवदेखि मन्त्रीसम्म बनाए । राष्ट्रका प्रतिभा र सक्षम व्यक्तिहरूलाई नेपालमा कि त पृथ्वीनारायणले प्रयोग गरे कि त महेन्द्रले गरे ।
उनीहरूकै पालामा योग्य मान्छेले स्थान पाए । जसरी पृथ्वीनारायण शाहले विशाल अङ्ग्रेजसँग सजग रहे, राजा महेन्द्र पनि तात्कालिक भारतका प्रधानमन्त्री ज्वाहरलाल नेहरू र गृहमन्त्री सरदारभाइ पटेलसँग समदुरीमा रहे । आयु सकिन लागेको आभास भएपछि आफ्ना निकटवर्तीलाई लिएर पृथ्वीनारायण शाह नुवाकोट भैरवीको दर्शन गर्न पुगे । मङ्सिर महिनामा भैरवीको मन्दिरभित्र ध्यान गरी आयु थपिदिन याचना गरे । भैरवीको वाणी भयो – “तेरो आयु मैले थपिकन हुँदैन. यो जन्म भोग गरिसकिस्. अर्काे जन्म नेपालको भोग माग्छस् भन्या मेरा शरणमा प्राण छोडेस् तँलाई नेपालको ठूलाेभोग म दिउँला ।” (नेपालकाे आलाेचनात्मक इतिहास, ढुण्डीराज, तृतीयखण्ड, पृष्ठ २७)
यो आशीर्वचनयुक्त वाणी सुनेपछि पृथ्वीनारायण शाहले आफ्ना निकट भाइभारदार, गुरुपुरोहित आदि बोलाई जीवनभरका अनुभव र भावीपुस्ताका लागि मार्गदर्शन गरे, त्यसको सँगालोलाई दिव्योपदेश भनिन्छ । उनले नुवाकोटको तादी (सूर्यमती) र त्रिशूली (धर्मधारा) नदीको दोभान (देवीघाट) मा देह विसर्जन गरे । राजा महेन्द्रले लेखेका कविता, विभिन्न समयमा दिएका मन्तव्यले पनि नेपालका लागि दिव्योपदेशसरह नै मार्गदर्शन गरेको देखिन्छ । पृथ्वीनारायणले कमाराकमारी प्रथाको उन्मूलन गरे, राजा महेन्द्रले छुवाछुत प्रथाको अन्त्य गर्ने कानुन ल्याए । महेन्द्रले ल्याएको नयाँ मुलुकी ऐनले पृथ्वीनारायणको भावना र मार्गदर्शनलाई प्रतिबिम्बित गर्दछ । पृथ्वीनारायण शाहले देवीघाटनजिकै त्रिशूलीको किनारमा प्राण त्यागे, महेन्द्रले त्रिशूलीको पुछार अर्थात् देवघाटनजिकै धाम गमनको स्थान बनाए ।
पृथ्वीनारायणले वि. सं. १८३१ माघ १ गते देहत्याग गरे भने महेन्द्रले वि. सं. २०२८ माघ १६ गते अर्थात् माघ महिनामा नै आफूलाई नेपाल आमाको काखमा विर्सजन गरे । पृथ्वीनारायणले नेपाल एकीकरण गरे शासन गर्न पाएनन्, महेन्द्रले पनि कानुन बनाउने, शासन प्रणालीको बाटो तयार गरे तर शासन गर्न पाएनन् । पृथ्वीनारायणमा वैदिक धर्म, संस्कृति र आफ्नै कलाकौशलप्रति मोह थियो, नुवाकोट दरबार, काठमाडौँको नौतले दरबार यसका उदाहरण हुन् । राजा महेन्द्र पनि पोखरास्थित फेवातालको मञ्जिल होस् वा चितवनको दियालोब·ला दुवैमा यी गुण मिल्छन् ।
महेन्द्र सरकारले वि. सं. २०११ साल फाल्गुन ३० गते राजा त्रिभुवन दिवङ्कत भएपछि शासनको बागडोर सम्हाले । पृथ्वीनारायणले पनि नरभूपाल शाहको चैत्र २५ मा बागडोर लिएका थिए । नरभूपालको मृत्यु हुँदा पृथ्वीनारायण साथमा थिएनन्, त्रिभूवन सरकारको मृत्यु स्वीजरल्याण्डमा भएको हुनाले राजा महेन्द्र पनि उनका बुबाका साथमा थिएनन् । महेन्द्र सरकारका पिताश्री त्रिभूवनलाई पनि पृथ्वीनारायणका बुबा नरभूपालको जस्तै एक प्रकारले अन्तिम समयमा निकै तनाव थियो । राणाको पञ्जाबाट नेपाल भर्खर स्वतन्त्र भएको, त्रिभूवनका स्वकीय सचिवसमेत भारतीय नै थिए ।
उनलाई अन्ताराष्ट्रिय दबाब र आन्तरिक व्यवस्थापनमा निकै समस्या थियो । बुबाकै जीवनकालमा राजा महेन्द्रले राणाशासनको अन्त्यमात्र देखेनन्, उनले भारतको प्रभाव र नेपालको आन्तरिक मामिलालाई राम्रोसँग बुझेका थिए । पृथ्वीनारायणले पनि नरभूपालले नुवाकोटमा पराजय भोगेको, लमजुङबाट सहयोग नमिलेको, अनेकौँ तनावका परिस्थितिलाई सानै उमेरमा राम्रोसँग बुझेका थिए । पृथ्वीनारायण शाहका दुई छोरामा एउटा राजा, एउटा राजकुमार भए । महेन्द्रका तीन छोरा भए पनि धीरेन्द्रले अधिराजकुमारको पदवी छोडी सामान्य नागरिकले जस्तै जीवन बिताउन थालेपछि वीरेन्द्र राजा र तात्कालिक अवस्थामा ज्ञानेन्द्र अधिराजकुमार भए ।
पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह राज्य सञ्चालनभन्दा पनि साहित्य, साधानातिर आकर्षित थिए । महेन्द्रका जेठा छोरा वीरेन्द्रमा पनि राज्य सञ्चालनमा भन्दा साधुसन्त, धर्मप्रतिको आकर्षण बढी थियो । पृथ्वीनारायण शाहमा राजर्षि, दूरदर्शीलगायतका स्वभाव भए जस्तै कविहृदयका महेन्द्रमा कूटनीतिदेखि अर्थनीति, धर्मनीति, राजनीतिलगायतका क्षेत्रहरूको अद्भूत ज्ञान र दूरदृष्टि रहेको देखिन्छ । यसकारण “म मरे पनि मेरो देश बाँचिरहोस्” भन्ने भावना राजा महेन्द्रमा थियो ।
पृथ्वीनारायणले जस्तै राजा महेन्द्रले सैनिकबाट सीमा सुरक्षा होला भनी अवकाशप्राप्त सेनालाई नेपाल र भारतको सीमानामा बसोबासको व्यवस्था मिलाएका थिए । राजा महेन्द्रले विभिन्न जातजातिबाट मानिसहरूलाई छानेर राज्यका विभिन्न जिम्मेवारी वा महत्वपूर्ण स्थानमा राखिदिएर अपनत्वको अनुभूति दिने काम गरे । मनाङ निवासीहरूको आर्थिक अवस्था सुदृढ गर्न राजा महेन्द्रकै भूमिका स्तुत्य थियो । पृथ्वीनारायण शाहलाई जस्तै राजा महेन्द्रको पनि साधुसन्तमाथि ठूलाे विश्वास थियो । देवघाटका गलेश्वरबाबा, पशुपतिमा बस्ने नङ्गीनीमातालगायतका विचारलाई महेन्द्रले यथोचित स्थान दिन्थे ।
विभिन्न समयमा मठमन्दिर र साधुसन्तको दर्शनमा पुग्दथे । उनी पनि पृथ्वीनारायणजस्तै रुढीवादी थिएनन् तर परम्परावादी अवश्य थिए । पृथ्वीनारायणलाई शिक्षाप्रति असाध्यै मोह थियो । उनले छोरीलाई पढ्ने व्यवस्था गराएका थिए । महेन्द्रले नै त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्थापनामा ठूलाे भूमिका खेलेका थिए । छोराहरूलाई पढ्न पठाएर शिक्षित बनाउनका साथै कूटनीतिक सम्बन्ध सुधार गर्ने प्रयास गरे । पृथ्वीनारायण शाहले जीवनको अन्तिम क्षणमा नुवाकोटभैरवीसँग प्रार्थना गर्दै आफूले आर्जेको मुलुक घुम्ने, एकीकरणको क्रममा लिएको ऋण तिर्ने इच्छा देखाएका थिए रे । उनीपछि राजा महेन्द्रमात्र यस्ता राजा भए जसले नेपालका हरेक जिल्लाको भ्रमण गरे र पृथ्वीनारायणका पालामा लिएको ऋण तिर्ने काम गरे ।
मेरा श्रद्धेय गुरुजीकहाँ आएका राजा महेन्द्रका दौडाहामा सहभागी भएका वृद्ध सैनिकले बताएको घटना अहिले पनि मेरो मानसपटलमा ताजा छ । राजा महेन्द्र देश दौडाहाका क्रममा नुवाकोट, धादिङ, गोरखा पुग्दा केही यस्ता मानिसहरू भेटिए रे जसले पृथ्वीनारायण शाहले आफ्ना पुर्खासँग पैसा, धान, मकै, कोदो आदि सापटी लिएको दाबी गरे रे, कतिसँग त कागजीप्रमाण पनि थियो रे । जसले मौखिकरूपमा दाबी गरे उसलाई पनि समयानुकूल राजा महेन्द्रले भुक्तान गरेका थिए रे । उनका साथमा रहेका केही व्यक्तिले विना प्रमाण दिन नहुने कुरा गर्दा महेन्द्रले भनेका थिए रे “उसका पुर्खाले पृथ्वीनारायणलाई दिएका थिएनन् भने मेराअगाडि आएर भन्ने हिम्मत नै गर्ने थिएन त्यसैले साबिकबमोजिम दिनू ।”
राजा महेन्द्र दौडाहाकै क्रममा लमजुङ पुगेपछि त्यहाँ रहेको पुरानो सिंहासनको अवस्था बुझ्न लगाए । काठको सिंहासन रुग्णमात्र होइन आपैmँ उभिन सक्ने अवस्थामा पनि थिएन रे । सैनिकहरूले महेन्द्रको मनोभाव बुझेर पुरानो सिंहासनलाई बस्न लायक बनाइदिए । यही घटना गोरखादरबारमा पनि भएको थियो रे । टालटुल गरेर बनाएको पृथ्वीनारायणको सिंहासनमा उनी निकै भावुक भएर बसेको प्रसङ्क वृद्ध भइसकेका ती सैनिकले मेरा गुरुदेवलाई बताउनुभएको थियो । पृथ्वीनारायण शाहको लमजुङको सिंहासनमा बस्ने रहर महेन्द्रको रूपमा जन्मिएर पुरा गरे भन्ने बयान पनि त्यतिबेला चलेको थियो रे । पृथ्वीनारायणपछि नेपालको इतिहासमा हरेक स्थानमा पुग्ने तथा आफ्नै विवेक प्रयोग गरेर काम गर्ने राजा केवल महेन्द्रमात्र हुन् । कति राजालाई भारदारले पिँजडाको सुगा बनाए, कतिलाई राणाले गुप्तवासमा राखे, कतिलाई प्रजातन्त्रको घुम्टो ओढाई दिए ।
भारतले महेन्द्रको पालामा जुन खेल खेलेको थियो, अहिलेका नेताजस्ता नालायक भए नेपाल त्यतिबेला नै सिक्किम वा काश्मीरजस्तै भइसकेको हुन्थ्यो । नेपाल कमजोर भएको देखेर जवाहरलाल नेहरूले राजा महेन्द्रलाई दुई देशको राजा हुन प्रस्ताव गरेका थिए रे । राजा महेन्द्रले “दुई देशको राजा म हुने हो भने झण्डाचाहिँ नेपालकै राख्नुपर्छ ।” भनेपछि नेहरू चूप लागेका थिए रे । यो घटना थाहा पाउने केही पुराना व्यक्ति अहिले पनि छँदैछन् । भारतका तात्कालिक गृहमन्त्री सरदारभाइ पटेलले केही समय सोही पदबाहाल गरेका भए नेपाल के हुन्थ्यो भन्न सकिन्न । जसरी क्रिस्चियनले पृथ्वीनारायणलाई देख्न सक्दैनन् त्यसरी नै पैसामा किनिएका दल र पार्टीले महेन्द्रलाई चिन्न सकेनन् । गणतन्त्र आएपछि हाम्रो भाषा, झण्डामा मात्र होइन पृथ्वीनारायण शाह र महेन्द्रमाथि आक्रमण भएको छ । भोलि अप्ठेरो नहोस् भनेर महेन्द्रले नेपालबाट भारतीय मुद्रा, पाठ्यक्रम र सुरक्षाकर्मीलाई हटाएर नेपाली पाठ्यक्रम, मुद्रालाई तराईमा कार्यान्वयन गराए ।
नेपाललाई संयुक्त राष्ट्रसङ्खको सदस्यता दिलाउनु, देशमा उद्योग कलकारखाना खोल्नु, नयाँ मुलुकी ऐन ल्याउनु, भूमिसुधार गर्नु, सयभन्दा बढी ऐन नियम लागु गर्नु, प्रशासनिक इकाई गठन गर्नु, अञ्चल र जिल्लाको विभाजन, बाटोघाटो र पुल निर्माण, नेपाल भ्रमण गरी जनताको रायसम्मति बुझ्नेलगायतका कार्यहरूले पृथ्वीनारायणको इच्छालाई महेन्द्रले पुरा गर्न स्तुत्य योगदान गरेको प्रष्ट हुन्छ । पृथ्वीनारायणले हिमाल, तराई र पहाडले एकअर्कालाई पराई नसम्झनु, नेपाललाई विदेशीको अखडा नबनाउनु भनेका थिए, जसलाई राजा महेन्द्रले अक्षरशः पालना गरे । पृथ्वीनारायण शाहको जस्तो राष्ट्रिय भावना र क्षमता राजा महेन्द्रबाहेक अहिलेसम्मका कुनै राजा र राजनेतामा देखिएन ।
बेलायतलाई पृथ्वीनारायण शाहले जुन पाठ पढाए, त्यसरी नै नेपाल स्वतन्त्र मुलुक भएको तथ्य राजा महेन्द्रले बेलग्रेड सम्मेलनमार्फत विश्वलाई प्रष्ट बनाए । पृथ्वीनारायण शाहपछि गोरखाजिल्लामा गई गोरखादरबारको पुरातात्विक एवं ऐतिहासिक धरोहरलाई संरक्षणको कार्य गर्ने, पृथ्वीनारायणको न्वारान हुँदा प्रज्वलन भएको अग्निको ताप लिने राजा महेन्द्र हुन् । पृथ्वीनारायणले जसरी एकीकरणमा साधुसन्तलाई परिचालन गरी आशीर्वाद लिए, त्यो गुण राजा महेन्द्रमा थियो । राजा महेन्द्र पूर्वपश्चिम राजमार्गको शिलान्यास गर्न गैँडाकोट पुग्दा गलेश्वर बाबाको दर्शन गर्न गएको प्रकरण होस् वा पशुपतिमा बसेकी नाङ्गीमाताको निर्देशनअनुसार वेदविद्याश्रमको स्थापना गर्दा होस् वा रामनाथ अघोरीको आसयअनुसार त्रि. वि. र योगी नरहरिनाथको मार्गनिर्देशनमा संस्कृत विश्वविद्यालय स्थापना गर्दा होस् सबैमा साधुसन्तकै प्रभाव थियो । पृथ्वीनारायणले ग्रेट मानिएको ब्रिटेन र शक्तिशाली मानिएको गुर्गिनलाई हराए । महाराज हुनका लागि राजाहरूलाई आफ्नो अधीनमा राख्नुपर्छ ।
पृथ्वीनारायणले बेलायत, गुर्गिनको सेनालाई पराजय गरे, अर्कोतर्फ किरातहरूको किपटलाई आफ्नो काबुमा राखे भने राजा महेन्द्रले बजाङ, मुस्ताङ, सल्यान र जाजरकोट गरी ४ वटा राजालाई राखेर सबै रजौटाहरूको उन्मूलन गरे । ती राजालाई भत्ता दिइयो तर शासन गर्ने अधिकार थिएन । पृथ्वीनारायण शाहले पनि किरातलाई किपट दिएका थिए तर शासनसत्ता आफैंमा नै निहित रहेको थियो । पृथ्वीनारायणले दिव्योपदेशमा पूर्वराजाहरूका स्थिति हेरिसकेको एवं आफूलाई पनि स्थिति बाँध्ने रहर भएको बताएका छन् । महेन्द्रले धेरै कानुन र विधानहरू तयार गरेर पृथ्वीनारायणको इच्छा पुरा गरेको बताउँछन् । यसकारण दुनियाँका आँखाले जे देखे पनि दिव्यदृष्टियुक्त सन्तमहात्मा एवं अनुभवी विद्वज्जनले राजा पृथ्वीनारायण शाहको पुनर्जन्म नै राजा महेन्द्रको रूपमा भएको हो भनी अनुमान गर्दछन् ।
पृथ्वीनारायणका सिद्धान्त, विचार, कार्यपद्धति, स्वभाव र जीवनका अनेक घटना हुबहु महेन्द्रसँग मिल्दछन् । पृथ्वीनारायणलाई नेपाली र नेपालप्रति जति प्रेम थियो, त्यही श्रद्धा र विश्वास महेन्द्रमा देखा परेको थियो । पृथ्वीनारायण शाह ५२ वर्ष पुगेको लगभग ४ दिनपछि मृत्यलाई वरण गरे, राजा महेन्द्र ५२ वर्ष प्रवेश गर्नै लाग्दा धराधामबाट बिदा भए । पृथ्वीनारायणलाई कानुनसम्मत रूपमा राष्ट्र अघि बढोस् भन्ने सदिच्छा थियो । महेन्द्रको पनि केही दिनपछि प्रजातन्त्र दिने योजना अधुरै रह्याे । पृथ्वीनारायणले प्राण छोड्दा जेठा छोरा साथमा थिएनन्, महेन्द्रले देह त्याग्दा पनि उही अवस्था थियो ।
पृथ्वीनारायण शाह स्वर्गवास हुँदा रानी नरेन्द्रलक्ष्मीमात्र जीवित थिइन्, महेन्द्र सरकारको मृत्यु हुँदा पनि रानी रत्नराज्यलक्ष्मीमात्र जीवित थिइन् । पृथ्वीनारायणमा क्षत्रिय स्वभाव सधैँ देखिन्छ । जस्तै उनले मकवानपुरमा आफूलाई अपमान गर्ने हेमकर्णका सैनिकलाई काटिदिए । महेन्द्रले पनि अमेरिका, चीन, युरोप आदिमा भएको यात्राक्रममा नेपालको मानमा तलमाथि हुन दिएनन् । यी विभिन्न तथ्यलाई हेर्दा राजा महेन्द्रलाई बडामहाराज पृथ्वीनारायण शाहको भोगावतार मान्दा फरक नपर्ने नै देखिन्छ ।
हरिप्रसाद सोडारीले सम्पादन गर्नुभएको पुस्तक अनेकन दृष्टिमा राष्ट्रनिर्माताबाट साभार (श्री साेडारी लेखक तथा इतिहास अध्येता हुनुहुन्छ)










