३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम्फमा महिला चलचित्रकर्मीबारे छलफल



अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र विदेशमा समेत एकसाथ प्रदर्शन हुन थालेका छन् । प्रविधिले दिएको सुविधाका कारण नेपालबाटै विश्वका जुनसुकै स्थानमा चलचित्र प्रदर्शन गर्न सकिन्छ । यसले नेपाली चलचित्रको व्यापार बढ्दै छ भने कथ्य शैलीसँगै निर्माणमा समेत परिवर्तन आएको छ ।

यद्दपि महिला चलचित्रकर्मीको सङ्ख्या भने कमै छ । विशेष गरी चलचित्र निर्देशक, निर्मातासँगै प्राविधिकको सङ्ख्या कम रहेको यस क्षेत्रमा क्रियाशील महिला चलचित्रकर्मीहरूले नै बताउने गरेका छन् । महिलाले कमै मात्रामा नेतृत्वदायी भूमिका पाएका पनि उहाँहरूको भनाइ छ । यस्तै विषयमा काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ९किम्फ० मा छलफल भयो ।

‘वुमन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा निर्देशक आकाङ्क्षा कार्की, विदुषी गिरी, सरिता शाह र डिना मुफ्टीले यस विषयमा छलफल गर्नुभयो । निर्देशक तथा अभिनेत्री शाहले आफूले महिलाको पात्र वा विषयमा अनुभव थप्ने बताउनुभयो । उहाँले भन्नुभयो,“म जे अनुभूत गर्छु त्यो भोगाइ र अनुभूति कोही अरुले गर्दा धेरै कुरा छुट्न सक्छ । त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छुजस्तो लाग्छ । मैले थप्ने भनेको त्यही छुटेका कुराहरू हो ।”

अभिनेत्री तथा निर्देशक कार्कीले महिलाले बढी संवेदनशील र स्वभावका साथ कथाहरु भन्ने गरेको बताउनुभयो । “स–साना कुरालाई प्राथमिकता दिने स्वभावले चलचित्रलाई फरक बनाउन सक्छ । व्यक्तिपिच्छे नै सोच र प्रस्तुतिकरण फरक हुन्छ तर महिलाले स–साना भावनालाई प्रस्तुत गरिरहेका हुन्छन्”, अभिनेत्री कार्कीले भन्नुभयो । छलफलमा सहभागी निर्देशक गिरीले अहिले महिलाको उपस्थिति आत्मनिर्भर चलचित्र (इन्डिपेन्डेड फिल्म) मा रहेको बताउनुभयो । ठूला चलचित्रमा उपस्थिति विस्तारै बढिरहेको प्रसङ्ग उहाँले जोड्नुभयो

अर्का वक्ता मुफ्टीले पर्दापछाडि काम गर्ने महिला चलचित्रकर्मीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो,“प्राविधिकरूपमा दक्ष महिलाको उपस्थिति बढाउन अझै बढी काम गर्नुपर्छ । अहिले आकर्षण अभिनयमा देखिएको छ । बलियोरूपमा आफूलाई प्रस्तुत गर्न सके विस्तारै त्यो प्ूरा हुन्छ तर अहिले पनि महिलालाई नेतृत्वदायी भूमिकामा विश्वास गरेको कमै पाइन्छ ।”

निर्देशक गिरीले पनि महिला चलचित्रकर्मीले विश्वास बढाउन आफ्नो दक्षता बढाउनुपर्नेमा जोड दिनुभयो । “महिलाको नेतृत्व क्षमता र सक्षमतामा शङ्का गर्नु नै सबैभन्दा ठूलो समस्या हो। महिला नेतृत्व पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने कुरा स्वीकार्न जरुरी छ”, निर्देशक गिरीले भन्नुभयो ।

‘परिवर्तनको प्रतिध्वनि’ नारा दिइएको महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र सहभागी छन् । गत जेठ १८ मा सुरु भएको महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ २० गतेसम्म चल्नेछ ।