• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति



डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्‍याएको छ । उहाँले भन्नुभयो, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।”  क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताउनुभयो । हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्‍याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पुर्‍याएको छ । फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ ।

हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताउनुभयो । यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत्् पोल ढल्दा अवरोध बनेको छ । विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । विद्युत् सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् ।

कतिपय स्थानमा सडक अवरोधले गर्दा एम्बुलेन्स रोकिएको जानकारी पाएपछि राति १० बजेसम्म घटनास्थलमा पुगेर काम गरिरहेको केन्द्र प्रमुख रेग्मीले बताउनुभयो । ठूला–ठूला रुख ढलेर तारमा लागेकाले पोलसमेत ढलेको रेग्मीले जानकारी दिनुभयो ।  व्यास नगरपालिका–१० को  बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को  छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन् । रासस