• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए: मन्त्री श्रेष्ठ



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बंगलादेशमा सिफारिस गरिएका विद्यार्थीहरुमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको बताउनुभएको हो । बंगलादेशले दिने २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनि बंगलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि यस सन्दर्भमा सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी गराउनुभएको हो । अन्य २ जनाले भने बंगलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने उहाँले बताउनु भयो ।

समिति बैठकमा बोल्दै उहाँले भन्नुभयो – ‘२२ जनाको लागि जि टु जीको कोटा थियो । बंगलादेशले दिने वेब लिंक उहाँहरुले पब्लिकली राख्नुभएको रहेछ । दुई जनाले त्यसबाट अप्लाइ गर्नुभएको रहेनछ । हामीले सेलेक्ट गरेर पठाएकाहरु २ जनाले एप्लाइ गर्नुभएको रहेनछ । पहिले १२ जना छानिनुभएको थियो । ८ जना अन्यले पनि पढ्न पाउने भएछन् । बंगलादेशले हामीलाई नोट पठाएकोबाट स्पष्ट के छ, उहाँहरुले त्यो पत्रमै के लेख्नुभएको छ भने तपाईहरुले पठाएकोमा २२ जनामा १० जना योग्य भएन । हामीले हाम्रो लिङ्कबाट जसले आवेदन गर्‍यो त्यसमार्फत् लिएको हो भनेर बंगलादेशले स्पष्ट भनेको छ । जम्मा ३६ जनाले आवेदन गरेको रहेछ । २२ जनामध्ये २० जना हामीले छानेर पठाएका विद्यार्थी र अन्य १६ जना । १६ जनामध्ये बंगलादेशले हामीले यो तरिकाले छान्यौँ भनेर बंगलादेशले लेखेको छ ।’

मन्त्री श्रेष्ठले एमबिबिएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरुको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात केही निर्णय गर्न सकिने बताउनु भयो ।