१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण



अ+ अ-

गलेश्वर । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ ।

जिल्लास्थित नेपाल मगर सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । मगर भाषा र संस्कृतिका जानकार दानबहादुर आलेले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।

पछिल्लो समय मगर भाषा, मौलिक संस्कृति र परम्परा हराउँदै जान थालेकाले यसको संरक्षण एवं प्रवर्द्धन गरी आफ्नो पुख्र्यौली पहिचान युवा पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको सङ्घका सचिव हिरा पुनले जानकारी दिनुभयो ।

मगर बाहुल्य रहेको म्याग्दीमा मगर भाषा र लिपिका बारेमा नयाँ पुस्तालाई जानकारी दिन र पुर्खाको विरासतकारुपमा रहेको संस्कृति र परम्परालाई जोगाइ राख्न प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

सङ्घका सचिव पुनका अनुसार २०७८ को जनगणना अनुसार जिल्लामा एक लाख सात हजार ३३ जनसङ्ख्या रहेकामा मगर जातिका मात्रै ४६ हजार २५ रहेका छन् ।

“जिल्लामा गत वैशाखमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन तथा अनुसन्धान समेत गरिएको थियो”, उहाँले भन्नुभयो, “नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।”

म्याग्दीमा करिब चार सय वर्षअघि गुमेको मगर ‘ढुट’ भाषाको बारेमा पछिल्लो समय चासो बढ्न थालेको छ । सात वर्षअघि बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको थियो ।

उक्त प्रशिक्षणले निरन्तरता नपाउँदा सिक्न चाहना भएकाले समेत अवसर नपाएको अवस्थामा अहिले मगर भाषाका साथै संस्कृतिका धरोहर मानिने थाली र कौडानाँचको प्रशिक्षण राखिएको प्रशिक्षक आलेले बताउनुभयो । जिल्लाका सम्पूर्ण मगर समुदायलाई उक्त अवसरको फाइदा लिन सङ्घ अनुरोध गरेको छ ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर पर्नुका साथै सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका मगर समुदायका ज्येष्ठ नागरिक बताउँछन् । रासस