२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण



अ+ अ-

गलेश्वर । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ ।

जिल्लास्थित नेपाल मगर सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । मगर भाषा र संस्कृतिका जानकार दानबहादुर आलेले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।

पछिल्लो समय मगर भाषा, मौलिक संस्कृति र परम्परा हराउँदै जान थालेकाले यसको संरक्षण एवं प्रवर्द्धन गरी आफ्नो पुख्र्यौली पहिचान युवा पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको सङ्घका सचिव हिरा पुनले जानकारी दिनुभयो ।

मगर बाहुल्य रहेको म्याग्दीमा मगर भाषा र लिपिका बारेमा नयाँ पुस्तालाई जानकारी दिन र पुर्खाको विरासतकारुपमा रहेको संस्कृति र परम्परालाई जोगाइ राख्न प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

सङ्घका सचिव पुनका अनुसार २०७८ को जनगणना अनुसार जिल्लामा एक लाख सात हजार ३३ जनसङ्ख्या रहेकामा मगर जातिका मात्रै ४६ हजार २५ रहेका छन् ।

“जिल्लामा गत वैशाखमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन तथा अनुसन्धान समेत गरिएको थियो”, उहाँले भन्नुभयो, “नेपालमा जातिगत जनसङ्ख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।”

म्याग्दीमा करिब चार सय वर्षअघि गुमेको मगर ‘ढुट’ भाषाको बारेमा पछिल्लो समय चासो बढ्न थालेको छ । सात वर्षअघि बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको थियो ।

उक्त प्रशिक्षणले निरन्तरता नपाउँदा सिक्न चाहना भएकाले समेत अवसर नपाएको अवस्थामा अहिले मगर भाषाका साथै संस्कृतिका धरोहर मानिने थाली र कौडानाँचको प्रशिक्षण राखिएको प्रशिक्षक आलेले बताउनुभयो । जिल्लाका सम्पूर्ण मगर समुदायलाई उक्त अवसरको फाइदा लिन सङ्घ अनुरोध गरेको छ ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर पर्नुका साथै सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका मगर समुदायका ज्येष्ठ नागरिक बताउँछन् । रासस