• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: महजोडी



काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति बारे माफी मागेका छन् ।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका मह जोडिले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले उनीहरुसँग प्रतिक्रिया लिएको थियो । उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनलाई पक्राउ गर्नु उचित नरहेको बताएका थिए । उक्त अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा  आलोचना भएपछि उनीहरूले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका हुन् ।

अपर्झट प्रतिक्रिया दिनु पर्दा अल्मलिएको बताउदै मदनकृष्णले भने, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

हरिवंशले पनि आफुहरुबाट त्रुटि भएको स्विकार गर्दै आफ्नै मान्छे सम्झिएर माया गरिदिन भनेका छन् । ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं’, उनले भने ।