१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य
अ अ+ अ-

काठमाडौँ । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो ।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय रु पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ । “अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा तीन हजार ४६ दशमलव २० प्रतिशतले वृद्धि भई गत आर्थिक २०७९/८० मा रु ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ”, प्रतिवेदनमा भनिएको छ,“यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८/७९ मा रु ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेकोमा आव २०७९/८० मा रु ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहनु मुख्य कारण हो ।” आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा नौ सय ८१ दशमलव ४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी दुई दशमलव ८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनीक खर्च २३ दशमलव ७९ प्रतिशतले बढेको छ ।

संस्थानको शेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको शेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ । संस्थानका नेपाल सरकारको कूल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ । गत आर्थिक वर्षको तुलनामा शेयर लगानी नौ दशमलव १९ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७९ अर्ब ७२ करोड १६ लाख पुगेको छ भने ऋण लगानी सात दशमलव ८६ प्रतिशतले कमी आई रु दुई खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व ११ दशमलव ६३ प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ८७ करोड दुई लाख पुगेको छ भने सम्भावित दायित्व ४४ दशमलव ८३ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानमा आव २०७८/७९ को तुलनामा चुक्ता पुँजी १० दशमलव ६२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा रु चार खर्ब १२ अर्ब १२ करोड ८१ लाख पुगेको थियो । जसमा नेपाल सरकारको पुँजी लगानी ९२ दशमलव १३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको सात दशमलव ८७ प्रतिशत शेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०७९/८० को कूल गार्हस्थ्य उत्पादन रु ५३ खर्ब ८१ अर्ब ३४ करोडमा सार्वजनिक संस्थानको कूल सञ्चालन आयको अनुपात १२ दशमलव २८ प्रतिशत रहेको छ ।

नेपाल सरकारले प्राप्त गरेको कूल आयकरमा आर्थिक वर्ष २०७८/७९ मा संस्थानको योगदान पाँच दशमलव ५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा छ दशमलव ९७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कूल रु १७ अर्ब ३९ करोड ४६ लाख आयकर दाखिला गरेका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार तीन सय ७७ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार चार सय आठ जना कार्यरत छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थानको सञ्चित नाफामा १६ दशमलव ६८ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब १४ करोड ९६ लाख पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत छन् । कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा विसं २०८० असार मसान्तमा १८ दशमलव ३२ प्रतिशत रहेको छ ।

निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा छन् । निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ । कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को विसं २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा रू ३५ अर्ब ४६ करोड ४७ लाख रहेकोमा आर्थिक वर्ष २०७९र८० मा २३ दशमलव ७९ प्रतिशतले वृद्धि भई रु ४३ अर्ब ९० करोड १८ लाख रहेको छ । २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् ।

आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमश: नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । त्यस्तै, उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमश: नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् । विसं २०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐनबमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका सातवटा, सञ्चार संस्थान ऐनबमोजिम स्थापना भएका दुईवटा, सहकारी ऐन बमोजिम स्थापना भएको एउटा र संस्थान ऐन बमोजिम स्थापना भएको एउटा संस्थान छ ।

स्वामित्वका आधारमा हेर्दा २० वटा सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् । क्षेत्रगतरूपमा वर्गीकरण गर्दा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा चार, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा पाँच, जनोपयोगी क्षेत्रमा पाँच र वित्तीय क्षेत्रमा नौवटा सार्वजनिक संस्थान हाल अस्तित्वमा रहेका छन् ।