२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमै तगारो !



अ+ अ-

गण्डकी । एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ । खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ । गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ । यो कास्कीको चिप्ली गाउँको अवस्था हो ।

तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ । सूचनामा लेखिएको छ, “सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला । यदि तगारो नलगाएमा जरिवाना रु पाँच सय तिर्नुपर्नेछ । तपाईंलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद ।”

सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारीसाधन रोक्छन्, तगारो खोल्छन्, सवारीसाधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन् । मादी गाउँपालिका–६ स्थित चिप्ली हुँदै मादी–१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरुले तगारो लगाउने गरेका हुन् ।

बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो । “चिप्ली, सिक्लेसलगायत यहाँका अरु गाउँमा पनि तगारो लगाउने चलन छ”, उहाँले भन्नुभयो, “चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ ।”

सवारीसाधनको आवातजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडाध्यक्ष गुरुङले बताउनुभयो । एउटै गाउँमा दुईपटकसम्म सवारीसाधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारीचालक बताउँछन् । “पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन”, उहाँले भन्नुभयो, “तगारो लगाउनु स्थानीयवासीको बाध्यता भएपनि अब छुट्टै विकल्प खोज्नुपर्छ ।”

चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताउनुभयो । “प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसको समाधानका लागि वडा कार्यालयले केही पहल गरोस् भन्ने हाम्रो माग छ ।”

पोखरा–सिक्लेस सडक स्तरोन्नतिसँगै सवारीसाधनको आवातजावत बढ्दै गएकाले तगारोले चालक र यात्रुलाई समस्या थपेको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । “एकातिर समय खेर जाने, अर्कोतिर सवारीचालकलाई दु:ख र झन्झट भइरहेको छ”, उहाँले भन्नुभयो, “परम्परागतरुपमा गाउँमा तगारो लगाउने चलन सडक आएपछि उपयुक्त देखिएको छैन, यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।” तगारो लगाउनु सडकको नियम विपरीतसमेत भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत काहुँखोला–सिक्लेस–दूधपोखरी सडकअन्तर्गत उक्त खण्ड पर्दछ । मादी–१ को कोरी र कपुचे तालको पदयात्रामा जाने पर्यटक पनि सोही सडक ओहोरदोहोर गर्छन् । विजयपुरखोलाबाट थाकसम्म १० किमी सडक कालोपत्र भएपछि सिक्लेस, चिप्लीलगायत मादीका पर्यटकीय गाउँको यात्रा थप सहज बनेको छ ।

थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्रका लागि ग्रेड र सब–बेस मिलाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । वडाध्यक्ष गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताउनुभयो ।

“अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सक्छन् । कालोपत्र सडक सिक्लेससम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ”, उहाँले भन्नुभयो, “बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।” पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ ।

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्‍याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो ।

वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताउनुभयो । “सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ”, उहाँले भन्नुभयो । रासस