• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

राष्ट्र बैंक भन्छ- अर्थतन्त्र सुधारतर्फ, ५४ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा



काठमाडौंः नेपाल राष्ट्रबैंकले हाल देशका ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ ।  कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति पछिल्लो सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको बैंकले जनाएको छ ।  

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन बैंकले आज सार्वजनिक गर्दै २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको जनाएको छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग-व्यवसायहरु सञ्चालन हुन नसकेको बैंकले जनाएको छ ।

सर्वेक्षणमा भनिएको छ, गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे देखिन्छ ।

साथै, गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको संचालन अवस्थामा उल्लेख्य सुधार आएको बैंकले जनाएको छ ।

सर्वेक्षण नतिजामा भनिएको छ, “मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग-व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ ।”

यसैगरी, गत असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको, कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको तर यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च घटेको पाइएको सर्वेक्षणमा भनिएको छ । उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु अगाडी सारेको बैंकले जनाएको छ ।