२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी
अ अ+ अ-

काठमाडौँ । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित हुनुभएको हो ।

गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको हो । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जित्नुभएको थियो । उहाँले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्नुभएको थियो । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जित्नुभएको थियो । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाउनुभएको थियो । उहाँले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।

मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जित्नुभएको थियो । उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जित्नुभएको थियो ।

महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित

नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च ९एनएसजेएफ०ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट रहनुभएको थियो । सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो । यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हार व्योहोर्न पुगेको थियो । 

पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई 

भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जित्नुभयो । उहाँले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जित्नुभएको हो । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गर्नुभयो । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जित्नुभएका मण्डेकाजी श्रेष्ठ रहनुभयो । उहाँले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहनुभयो । उहाँले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभयो । चौथो स्थानमा रहनुभएकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहनुभएकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गर्नुभयो । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो ।

पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उहाँले नै कप्तानी गर्नुभएको थियो ।

यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जित्नुभयो । उहाँले सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पार्नुभएको हो ।

यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो ।

टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै  जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो ।

यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गर्नुभयो । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउनुभएको थियो । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जित्नुभएको हो ।

पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुभएको छ । अन्य विधाका विजेताले भने जनही रु ५० हजार  पुरस्कार प्राप्त गर्नुभएको छ ।

दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो ।  रासस