• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व



काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।