३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता

रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता
अ+ अ-

गण्डकी। आज रक्षाबन्धन पर्व । हिन्दू संस्कारमा आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित दिदीबहिनीले राखी बाँधिदिने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

गोरखाकी सीता कार्कीले भने दाई रामशरणलाई यसपालि राखी बाँधिदिन पाउनुभएन । रामशरणले बैनीलाई उपहार र रक्षावचन नै दिन सक्नुभयो । दाजुभाइ-दिदीबहिनीबीचको अटुट प्रेम र स्नेहको प्रतिकका रुपमा लिइने यस पर्व सीता र रामशरणका लागि भने दुःखान्त बनेर आइपुग्यो ।

शुक्रबार अपराह्नपख मलिन अनुहार लिएर सीता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको छिँडीमा बसिरहनुभएको थियो । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि सम्पर्कविहीन भएका दाईको खोजी र पहिचानका लागि उहाँ पोखरा आइपुग्नुभएको हो । बाढीले बगाएर धादिङ, गोरखा, नवलपुर र तनुहँ जिल्ला ल्याइपुर्‍याएका शव पहिचान र परीक्षणका लागि गएराति पोखरा ल्याइएको थियो ।

तीनदिनदेखि बाढीमा हराइरहनुभएका दाइको खोजीका क्रममा आफू पोखरा आएको कार्कीले बताउनुभयो । “दाईको खोजीका लागि कोही काठमाडौँ जानुभएको छ, कोही चितवन, म पनि दाइको अवस्था पत्ता लाग्छ कि भनेर पोखरा आएकी हुँ”, उहाँले भन्नुभयो, “रसुवाको मैलुङबाट दाई बेपत्ता हुनुभएको हो, बुधबार बिहानसम्म उहाँसँग कुरा भएको थियो, त्यसपछि बेखर हुनुहुन्छ ।”

गोरखाको आरुघाट गाउँपालिका–१० मङ्गलटारका ३८ वर्षीय रामशरण बाढीपछि सम्पर्कविहीन हुनुभन्दा तीन दिनअघि मात्र घरमा आएर त्यसतर्फ फर्कनुभएको थियो । रसुवागढी नाकामा कोरियन कम्पनीले निर्माण गरेको जलविद्युत् आयोजना कार्यालयमा उहाँ चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । “कोरियन कम्पनीका सरहरू लिएर आयोजनास्थलमा जाने क्रममा बाढीमा परी दाइ बेपत्ता हुनुभएको हो”, सीताले भन्नुभयो, “अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न नसक्दा परिवार पीडामा छौँ, जतिसक्दो छिटो खोजी होस् ।”

कतै दाईको शव भेटिन्छ वा पहिचान हुन्छ कि भनेर सीताले अस्पतालको फरेन्सिक मेडिसिन विभागमा राखिएका शवका तस्बिर हेर्नुभएको थियो । आज अपराह्नसम्म दाईको अवस्थाबारे केही पत्ता नलागेको उहाँले बताउनुभयो । बाढीले शव बगाएर विभिन्न जिल्लामा पुर्‍याएकाले आफन्तलाई पहिचान गर्न कठिनाई भइरहेको छ । पहिचान गर्न सजिलो होस् भनेर बेपत्ता भएकाका आफन्तलाई शवको तस्बिर स्क्रिनमा हेर्ने व्यवस्था मिलाइएको छ ।

सीता झै सम्पर्कविहीनका अन्य आफन्त पनि अस्पताल पुगेर शव पहिचान गर्ने प्रयासमा छन् । विदेशी पर्यटक टोलीसँग गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन हुनुभएका भक्तपुरका चिकित्सक आयुष अधिकारीको खोजी र पहिचानका लागि उहाँका आफन्त मातृका ढुङ्गाना आयुषको तस्बिर हातमा लिएर अस्पताल पुग्नुभएको थियो । “आयुष मेरो साला बाबु हुन् । ग्राण्डी अस्पतालमा कार्यरत थिए”, उहाँले भन्नुभयो, “पर्यटकको टोलीसँगै आयुष बाढीपछि रसुवागढीबाट सम्पर्कविहीन भएका छन् ।”

उहाँले अस्पतालमा राखिएका अधिकांश शव चिन्नै नसकिने अवस्थामा रहेका बताउनुभयो । शव पोखरा ल्याएको थाहा पाएपछि विभिन्न जिल्लाबाट आफन्त शव पहिचानका लागि पोखरा आइपुगेका छन् । धादिङको निलकण्ठ नगरपालिका–९ धारापानी गाउँका २८ जना बाढीपछि सम्पर्कविहीन भएपछि उहाँहरूका आफन्त पनि यतिबेला पोखरा आइपुगेका छन् । स्थानीय बलराम लम्सालले गोसाइँकुण्डको तीर्थयात्रामा जाँदा बसमा यात्रारत सबै बाढीमा बेपत्ता भएको बताउनुभयो ।

“एउटै घरका सात जनासम्म बेपत्ता हुनुभएको छ, सिङ्गो गाउँ नै यतिबेला शोकमा छ”, उहाँले भन्नुभयो, “धादिङमा भेटिएका शव पोखरा ल्याएको थाहा पाएपछि हामी खोजीका लागि यहाँ आएका हौँ ।” सदरमुकाम धादिङवेशीबाट तीर्थयात्रु लिएर गएको बस नुवाकोटको बेत्रावतीबाट बेपत्ता भएको थियो । माथिबाट बाढी आएपछि उक्त बसमा सवार तीर्थयात्रु बसबाट ओर्लेर नजिकको घरसम्म पुगेको जानकारी आएपनि त्यसपछि सम्पर्कविहीन भएको लम्सालले बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३ र मणिपाल शिक्षण अस्पतालमा नौ वटा शव राखिएका छन् । शवको पहिचान तथा परीक्षणको काम भइरहेको बताउँदै उहाँले शव परीक्षण गरी पहिचान भएमा आफन्तलाई बुझाइने जानकारी दिनुभयो ।

पहिचान हुन नसकेका शवको डिनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने प्रजिअ गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिचान हुन नसकी बेवारिसे बनेका शवलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार व्यवस्थापन गरिनेछ । शवको सङ्ख्या धेरै भएका र अधिकांश शव चिन्नै नसकिने अवस्थामा रहेकाले व्यवस्थापनमा अझै केही दिन लाग्न सक्ने जनाइएको छ ।

त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको हो । यसअघि तनहुँबाट नौ वटा शव पोखरा ल्याइएको थियो ।रासस