७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी मनाइन्छ थारु समुदायमा ‘माघी’ ?



अ+ अ-

काठमाडौं । ‘माघी’ अर्थात 'माघे सङ्क्रान्ति' थारु समुदायको एक महान पर्व हो ।  थारु समुदायमा यस पर्वको विषेश महत्व रहेको छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

यो पर्व विषेश गरी सुदुरपश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायमा मनाइन्छ । कैलाली, कञ्चनपुरलगायतका थारु वस्तीमा माघको रमझम पुषको अन्तिम दिनदेखि शुरु हुन्छ । माघका दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । नयाँ वर्षकोरूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरिन्छ । 

माघ १ गते अर्थात माघको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । यस दिन नुहाउनुभन्दा अगाडि पानी भएको स्थान वा नदी किनारमा पैसा राख्ने थारु समुदायको परम्परा रहिआए पनि नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको छ । 

माघ नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै ‘सेवाढोग’ गर्दछन् । नुहाइ सकेपछि एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको अग्रजबाट सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ पनि भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।  

पुसको अन्तिम दिन घर(घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ जसलाई ‘जिता९मरना’ भनिने गरिन्छ । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ ।यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने विश्वास छ । माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रही आएको छ । 

माघ २ गतेलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । 

यहि दिनबाट एक वर्षको लागि परिवारको घरमुली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशवन्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसका साथै गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरु वा चयन गरिन्छ । यिनीहरुको कार्य अवधि एक वर्षको रहने गर्दछ । 

पछिल्लो समय थारु समुदायको माघ पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । 
यस पर्वमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन पनि रहिआएको छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर ‘निसराउ’ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ ।