काठमाडौं । भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएकोमा माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले सञ्चालन गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो।
चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो । यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनको भनाइ छ । उनले नेपालीको भावनामा ठेस पुर्याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिक बीचको सम्बन्धमा असर नपुर्याउने बताएका छन् ।
साथै उनले भारत र नेपालमा जुन सरकार भए पनि राजनीति हुँदै गर्छ भन्दै त्यसले दुई देश बीच सम्बन्धमा समस्या नहुने बताएका छन्। चौधरीले यसअघि नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि पनि नेपालप्रति आपत्तिजनक टिप्पणी गरेका थिए।
त्यतिबेला पनि विरोध हुँदा माफी मागेका थिए। चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएको बेला सगरमाथाको आधारशिविरसम्म एक रिपोर्ट बनाएका थिए। त्यसमा सगरमाथामाथि आपत्तिजनक दावी गरेका थिए।











