४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए



अ+ अ-

एजेन्सी । साउथ सिनेमाका सुपरस्टार मोहनलालले आज आफ्नो ६४ औं जन्मदिन मनाइरहेका छन् ।

एक अभिनेता हुनुको अलावा, मोहनलाल एक चलचित्र निर्माता, पार्श्व गायक, वितरक, निर्देशक र व्यापारी पनि हुन् । आफ्नो चार दशक लामो करियरमा उनले करिब ४ सय चलचित्रमा काम गरेका छन् ।

उनलाई पद्मश्री र पद्मभूषणबाट पनि सम्मानित गरिएको छ । उनले अहिलेसम्म उत्कृष्ट चलचित्रमा अभिनय गरेबापत पाँच पटक राष्ट्रिय पुरस्कार पाइसकेका छन् ।

उनी सेनाबाट मानार्थ लेफ्टिनेन्ट कर्णेलको दर्जा पाउने पहिलो अभिनेता हुन् । मोहनलालको नाममा धेरै कीर्तिमान पनि दर्ता छन् । उनले एक वर्षमा ३४ वटा चलचित्रमा काम गरेर कीर्तिमान बनाएका थिए जसमध्ये २५ चलचित्र हिट भएका थिए ।

मोहनलाल विश्वनाथनको जन्म २१ मे १९६० मा केरलाको इलान्थुर गाउँमा भएको थियो । उनी केरला सरकारका पूर्व ब्युरोक्रेट विश्वनाथन नायर र कानून सचिव र सन्ताकुमारीको घरमा जन्मिएका थिए ।

मोहनलाल तिरुवनन्तपुरमको आफ्नो पैतृक घर मुदवनमुगलमा हुर्केका थिए । उनले सरकारी मोडेल ब्वाईज हायर सेकेण्डरी स्कूल, तिरुवनन्तपुरममा अध्ययन गरे र तिरुवनन्तपुरमको महात्मा गान्धी कलेजबाट वाणिज्यमा स्नातक गरे । मोहनलाललाई सानैदेखि अभिनयमा रुचि थियो ।

मोहनलाल रेस्लर पनि थिए । उनी १९७७ र १९७८ को बीच केरला राज्य कुश्ती च्याम्पियन थिए । फिल्महरूमा रुचिका कारण, उनले पहलवानको रूपमा आफ्नो करियरलाई पछ्याएनन् र १८ वर्षको उमेरमा फिल्महरूमा प्रवेश गरे ।

मोहनलालले पहिलो पटक सन् १९७८ मा फिल्म ‘थिरनोत्तम’ मा काम गरेका थिए । यसलाई मोहनलाल आफैंले आफ्ना चार साथी मणियन्पिला राजु, सुरेश कुमार, उन्नी, प्रियदर्शन, रवि कुमारसँग मिलेर बनाएका हुन् ।

फिल्ममा मोहनलालले मानसिक रूपमा अपाङ्गता भएका नोकर कुट्टप्पनको भूमिका निभाएका थिए तर यो फिल्मको रिलिजमा धेरै समस्या आयो । सेन्सरको समस्याका कारण फिल्म अलपत्र परेको र रिलिज हुन २५ वर्ष लाग्यो ।

यसबाट मोहनलाल निकै निराश भए तर त्यसपछि उनले फिल्म ‘मञ्जिल विरञ्जा पोक्का’ बाट फिल्म डेब्यु गर्ने मौका पाए । यो फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए जसमा उनलाई निकै रुचाइएको थियो ।

फिल्मका निर्देशक फाजिलले एक अन्तर्वार्तामा मोहनलाललाई फिल्ममा कास्ट गर्नुअघि उनको अडिसन भएको बताएका थिए । यस अडिसनको प्यानलमा दुई ठूला निर्देशक पनि बसेका थिए जो मोहनलालको लुक्स र उचाइबाट प्रभावित थिएनन् ।

यही कारणले दुवैले उनलाई अस्वीकार गरेका थिए तर फाजिल उनलाई फिल्ममा कास्ट गर्नमा अडिग रहे र उनलाई फिल्ममा कास्ट गरेपछि फिल्म हिट भयो र मानिसहरूले मोहनलाललाई निकै मन पराए । यो फिल्मको सफलतापछि मोहनलालले करिब २५ फिल्ममा खलनायकको भूमिका निभाएका थिए । चलचित्र ‘सन्ध्यक्कु विरिन्जा पुवु’ र ‘कुयलीन थेडी’ मा उनको नकारात्मक भूमिकाको निकै प्रशंसा भएको थियो ।

सन् १९८६ तिर मोहनलाल आफ्नो फिल्मी करियरको शिखरमा थिए । अवस्था यस्तो थियो कि हरेक १५ दिनमा उनको एउटा फिल्म रिलिज हुन्थ्यो । यति मात्र होइन, सन् १९८६ मा एक वर्षभित्र उनका ३४ वटा फिल्म रिलिज भएका थिए जुन कीर्तिमान हो ।

अहिलेसम्म कुनै पनि कलाकारले एक वर्षमा यति धेरै फिल्म रिलिज गरेका छैनन् । चाखलाग्दो कुरा के छ भने यी ३४ फिल्ममध्ये २५ फिल्म हिट साबित भएका छन् । त्यो अवधिमा मोहनलालका हरेक वर्ष औसत २० वटा फिल्म रिलिज हुन्थ्यो । यही कारण उनको चार दशक लामो करियरमा उनका चलचित्रको संख्या ४ सय नाघेको छ ।

मोहनलालको स्टारडम ८०–९० को दशकमा चरम सीमामा थियो । विशेष गरी केटीहरु उनको बारेमा पागल थिए । यस्तो अवस्थामा सुचित्रा नामका फ्यान मोहनलालको फिल्म हेरेर उनप्रती धेरै मिहिनेत पछि मोहनलाललाई भेट्न सफल भइन् । सुरुमा मोहनलालले उनलाई साधारण फ्यानजस्तै व्यवहार गर्थे, तर एक दुई भेटपछि उनी पनि सुचित्राप्रति गम्भीर भए ।

सुचित्रा उनीसँग विवाह गर्न चाहन्थिन् तर परिवारसँग डराएकी थिइन् । एक दिन सुचित्राकी काकीले मोहनलालका बुवालाई भेटेर बिहेको कुरा गरिन् । दुवैको परिवारलाई यो सम्बन्धमा कुनै समस्या थिएन, तर उनीहरु कुन्डली मिलाएर विवाह होस् भन्ने चाहन्थे । दुवैको कुन्डली हेरियो तर उनीहरुको कुन्डली नमिल्दा परिवारका सदस्यले सम्बन्ध तोडेका थिए ।

मोहनलालले सम्बन्ध बिर्सेर अगाडि बढे तर सुचित्रा मानिन् । उनले मोहनलाललाई दुई वर्षसम्म पर्खिन् र एक दिन आयो जब मोहनलालले कुन्डली नमिल्दा पनि उनीसँग विवाह गर्न राजी भए । २८ अप्रिल १९८८ मा विवाह भयो । तिनीहरू दुई छोराछोरी, एक छोरा र एक छोरीका आमाबाबु बने ।

चलचित्र निर्माण र वितरणका अलावा मोहनलालको रेष्टुरेन्ट र मसला प्याकेजिङको व्यवसाय पनि छ । यससँगै उनी फिल्म वितरण कम्पनी म्याक्सल्याब सिनेमा एण्ड इन्टरटेनमेन्टका मालिक पनि हुन् । उनले त्रिवेन्द्रममा ‘विस्मया म्याक्स’ नामको फिल्म पोस्ट प्रोडक्सन स्टुडियो पनि खोलेका छन् ।

मोहनलाल विलासी जीवन मन पराउँछन् । उटीमा घर हुनुका साथै दुबईको बुर्ज खलिफामा पनि उनको फ्ल्याट छ । उनको घर यस भवनको २९ औं तलामा छ । यति मात्र होइन, उनको दुबईमा ‘मोहनलाल टेस्टबड्स’ नामक रेस्टुरेन्टको चेन पनि छ ।

रिपोर्टका अनुसार उनको कुल सम्पत्ति करिब ३७६ करोड रुपैयाँ छ । मोहनलालसँग ७.५ करोडको ६ वटा लग्जरी कार छन् । जसमा मर्सिडीज बेन्ज, बीएमडब्ल्यू, जगुआर र रेन्ज रोभर पर्छन् ।