• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गर्नुभएको छ ।

पद र कुर्सीका लागि नेताहरु राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उहाँको तर्क थियो । सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरु पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकि कामहरु पनि ओझेल परेको दाबी गर्नुभयो । उहाँले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरु पछि परेको बताउनु भयो । महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले त्यतिबेला पनि भनेका थियौ–राजनीतिक दलहरुको बीचको सहकार्यबाट एउटा गणतन्त्रसम्मको अथवा लोकतन्त्रसम्मको यात्रा आवश्यक छ भन्ने कुरामा हामी एकमत हो । र हामीले भन्दै आएको कुरा पनि हो । र यो प्रगतिशील कुरा पनि हो । संविधानमा पनि केही कुरा छैन भन्ने होइन । संविधानमा धेरै महत्वपूर्ण कुराहरु पनि उल्लेखित छन् । यो संविधान पुरानो गएगुज्रेको हो भन्ने सत्य होइन । विगतका सबै संविधान भन्दा यो संविधान परिवर्तनशील र प्रगतिशील छ भन्ने कुरा साँचो कुरा हो । त्यहाँसम्म त भयो । नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न सकिराखेको छैन । नेपालको राजनीतिक आन्दोलन देशलाई केन्द्रविन्दुमा राखेर जान सकिराखेका छैन । पार्टीहरु, नेताहरुले आत्मनिर्भर तरिकाले निर्णय लिन सकिराखेका छैनन् । कतैन कतैबाट प्रभावित हुन्छन । टुटफुटदेखि लिएर सरकार ढल्ने, बन्ने भन्ने कुरा सबै पार्टी भित्र यो बहस छ ।

अहिले हामी यसो बाहिर हेर्छाै–नेपाल एकदम कमजोर भएको देख्छौं । हामी सरकारमा त छैनौं । तर समाजमा त हामी छौं । राजनीतिमा पनि छौं । हेरिराखेका छौं । र नेपालका नेताहरुमा एउटा बेचैनि, घेराबन्दी परेको देखिराखिएको छ । घरघरमा क्यापियनहरु देखिन्छन । यो १८ वर्षले के देखाउँछ भने जव अगाडि कुर्सी र पदहरु आईपुग्छन् नि, त्यसपछि हामी बिचलित भएको देख्छौं त्यहाँ । त्यतिबेला जनताको मुद्दाहरु पनि पर्छ के । वेपत्ताका नागरिकको मुद्दा पनि त्यहीँ हो । वेपत्ता व्यक्तिहरुको खोजविनको कामलाई छिटो निष्कर्षमा लैजानुपर्छ । त्यसको मूल कुरा बेपत्ताहरु यदि यो परिवर्तनका हकदार हुन भने उनीहरुको स्वामित्व राज्यले लिनुपर्छ । कम्तिमा बोल्नु पर्छ । छिटो भन्दा छिटो बोल्नु पर्छ । यो विषयमा प्रधानमन्त्री प्रचण्डसँग पनि हाम्रो कुरा भईराखेको छ । उहाँले पनि बोल्नु पर्छ त भनिराख्नु भएको छ । तर १८ वर्ष वितिसक्यो । यही कुरा शेरबहादुर देउवा, केपी ओली कमरेड प्रधानमन्त्री हुँदा पनि हामीले बोल्नुपर्छ भनेका थियौ । तर सबैले बोल्नु पर्छ त भन्नु हुन्छ । तर बोल्न कसरी चाहेको हो भन्ने कुरामा अलमल देखिन्छ । त्यसकारण कम्तिमा सो विषयमा बोल्नु पर्‍यो ।’

महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरुले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।