• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु



एजेन्सी । आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीले पूर्व खेलाडी क्रिस गेललाई अर्को वर्ष आईपीएलमा इम्प्याक्ट प्लेयरको रुपमा खेल्न आग्रह गरेका छन् । उनलाई आरसीबीको जर्सी पनि प्रदान गरिएको थियो ।

जसको भिडियो आरसीबीले सामाजिक सञ्जालमा पोस्ट गरेको छ । मे १८ मा चिन्नास्वामी स्टेडियममा भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको थियो ।

खेल सकिएपछि आरसीबीबाट खेलेका पूर्व खेलाडी क्रिस गेल टोलीलाई हौसला दिन आएका थिए ।

यस क्रममा उनले खेलाडीसँग कुराकानी गरे । गेलले आईपीएलबाट सन्यास लिएका छन् र हाल रिटायर्ड प्लेयर्स लिगमा खेल्छन् ।

विराट गेललाई हेरेर हाँस्दै भन्छन्, ‘काका, अर्को वर्ष फर्केर आउनुस्, इम्प्याक्ट प्लेयरको नियम अझै लागू छ । अब तपाईंले फिल्डिङ गर्नुपर्दैन, यो तपाईंको लागि डिजाइन गरिएको हो ।’

जहाँ गेलले विराटलाई यस सिजनमा सबैभन्दा बढी छक्का कति ? भनेर सोधे । ३७ कोहलीले जवाफ दिए ।

कोहली यो सिजन आईपीएलको सर्वाधिक स्कोरर बनेका छन् । उनले अहिलेसम्म खेलेका १४ खेलमा १५५.६० को स्ट्राइक रेटमा ७०८ रन बनाएका छन् । जसमा एक शतक र ५ अर्धशतक समावेश छ । योसँगै उनले ५९ चौका र ३७ छक्का पनि प्रहार गरेका छन् ।

आरसीबी १४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । आईपीएल लिग राउण्डका १४ खेलमध्ये ७ खेलमा जित र ७ खेलमा हार बेहोरेको छ । आरसीबी ९औं पटक प्लेअफमा पुगेको छ । आरसीबीले अहिलेसम्म उपाधि जितेको छैन । उसले बुधबार एलिमिनेटरमा तेस्रो स्थानको राजस्थानसँग खेल्नेछ । राजस्थान १७ अंकसहित तेस्रो स्थानमा छ ।