• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने



काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हाल्नुभएको छ । उहाँको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका न्यौपानेलाई उदययुर सिमेन्ट उद्योगमा चारवर्षे कार्यकालका लागि महाप्रबन्धका रुपमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 

उहाँले नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, थप क्षमता वृद्धिका लागि अध्ययन गराउने, बजार व्यवस्थापन र ब्राण्डिङमा जोड दिने, लागत कम गर्ने उपायको खोजी गरी अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना रहेको बताउनुभयो । 

यसैगरी उहाँले वैकल्पिक ऊर्जा, उद्योगका नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताउनुभयो । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगका कामदार र कर्मचारीलाई उत्प्रेरणात्मक सीप अभिवृद्धिमुखी तालीम सञ्चालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने, वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटको मिश्रण गर्न सकिनेतर्फ पनि अध्ययन गर्नेलगायतका योजना अघि सार्नुभएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेको थियो । उक्तमध्येमा न्यौपानेलाई नियुक्त गरिएको हो । सिफारिस समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण विंडारी रहनुभएको थियो ।
    
न्यौपाने नेपाल चार्टड एकाउन्टेन्ट सङ्घ, नेपाल बार एसोसिएसनमा सदस्य, नेपाल अटो मोबाइल्स सङ्घ नाडामा महासचिवसमेत भइसक्नुभएको छ । यसैगरी नागरिक ट्रस्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थामा आबद्ध हुनुहन्छ । उहाँ शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहनुभएको छ ।  

अर्थ विज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायीसमेत रहनुभएका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाल माछापुच्छ्रे बैंकका सञ्चालकमा रहनुभएको छ । उहाँसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरी ग्रुपमा महाप्रबन्धकका रुपमा दुईदशक लामो समय काम गरेको अनुभवसमेत छ । उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली रहेको थियो । उदयपुर सिमेन्टले दुई वर्षपछि महाप्रबन्धका रुपमा न्यौपानेलाई पाएको हो । रासस