• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को ६० औँ खेलमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

यो सिजन केकेआर र एमआईबीचको दोस्रो खेल हुनेछ । अघिल्लो खेलमा कोलकाता २४ रनले विजयी भएको थियो ।

आज कोलकाताको सिजनको १२ औं खेल हुनेछ । टोलीले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ ।

मुम्बईको यो १३औं खेल हुनेछ, १२ खेलमध्ये ४ जित र ८ हारसहित मुम्बई ८ अंकसहित ८ नम्बरमा छ । आजको खेल जितेर केकेआर प्लेअफमा पुग्ने छ भने मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।

मुम्बई हेड टु हेडमा कोलकाताभन्दा अगाडि छ । यी दुईबीच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेका छन् । दुवै टोली इडेन गार्डेनमा १० पटक भिडेका थिए, एमआईले ७ पटक जितेको थियो भने केकेआरले ३ पटक मात्रै खेल जितेको छ ।

कोलकाताको उत्कृष्ट लय यस सिजन जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट फर्ममा छन् । टोलीका लागि सुनिल नारायण र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् । नारायण ४६१ रन बनाएर टिमका सर्वाधिक स्कोरर बनेका छन् । वरुण चक्रवर्ती ११ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने बलर हुन् ।

यो सिजन मुम्बईको टोली लयमा देखिएन । टिमका लागि सर्वाधिक रन बनाउने खेलाडीमा तिलक वर्मा शीर्ष स्थानमा छन् । उनले १२ खेलमा ३८४ रन बनाएका छन् । उनीबाहेक सूर्यकुमार यादव ३ सय ३४ रन बनाएर दोस्रो स्थानमा छन् । टिमका लागि स्टार फास्ट बलर जसप्रित बुमराहले सर्वाधिक विकेट लिएका छन् । उनले १२ खेलमा १८ विकेट लिएका छन् ।