१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
अ अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६ र मङ्गला–२ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले रु १३ लाख ५० हजार लागतमा दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । “पदमार्ग नहुँदा जोखिम मोलेर ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “पदमार्ग बनेपछि हिँडेर सहजै ताल भएको स्थानसम्म पुग्न सकिन्छ ।”

चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएको रु चार लाख ५० हजार बजेटबाट सात जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भिरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । यसअघि आव २०७७/७८ र आव २०७८/७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु नौ लाख बजेटबाट १.५ किमी पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ ।

झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका–६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गङ्ग रोकाले बताउनुभयो ।

“यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ बास्छ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन”, उहाँले भन्नुभयो, “मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।”

“किंवदन्तीअनुसार दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन् । बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएपछि सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइ छ”, समितिका अध्यक्ष रोकाले भन्नुभयो ।

बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहस्रधारा पुगिन्छ । सहस्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट करिब एक घण्टा पैदलयात्रा गरेपछि यो ताल पुग्न सकिन्छ । जङ्गल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने भएपछि ताल खुम्चिँदै गएको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

भाले बास्ने तालको संरक्षण गरेर यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । पदमार्ग निर्माणसँगै पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार हुँदै जाने वडाध्यक्ष रोकाले बताउनुभयो । रासस