• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल



गोदावरी । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ मा रहेको नाइल ताल, चुरे गाउँपालिका–४ मा रहेको कुटेबन्ध, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने पाण्डब, बेलकोट, भीमदत्त नगरपालिका–९ मटैनामा रहेको झिलमिला ताल, डडेल्धुराको आलिताल गाउँपालिकामा पर्ने आलिताल र बोडापती ताल चुरे क्षेत्रमा अवस्थित रहेका ताल हुन् ।

कैलाली, कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्रमा रहेको नाइल ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै गएको गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो ।

कञ्चनपुरको उत्तरी चुरे भेगका चारैतिर डाँडाकैबीचमा अवस्थित झिलमिला ताल समुद्रसतहदेखि छ सय ८० मिटर उचाइमा रहेको छ । सो तालको विशेषता हिउँद, गर्मी अथवा वर्षात्मासमेत पानी फोहर नहुने जनाइएको छ । धार्मिक, पर्यटकीय ऐतिहासिक रुपमा रहेको बेदकोट ताल संरक्षण अभावमा ओझेलमा परेको जनाइएको छ । कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको सो तालमा पछिल्लो पटक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको जनाइएको छ ।

आलिताल गाउँपालिका–३ मा रहेको धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार एक सय ७५ मिटर तथा चौडाइ करिब चार सय मिटर रहेको छ । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ तालमा जम्मा हुँदै जान थालेपछि दिन प्रतिदिन साँघुरिँदै गएको स्थानीयको भनाइ छ ।

चुरे क्षेत्रमा रहेका ताल प्राकृतिकरुपमा रमणीयका साथै छुट्टाछुट्टै पहिचान बोकेका ताल भएकाले ती तालको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । उहाँले चुरे क्षेत्रमा रहेका महत्वपूर्ण तालको आफूले स्थलगत अवलोकन गरिसकेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यान्वयन एकाइका अनुसार चुरे क्षेत्रमा अवस्थित आधा दर्जन बढी तालको पहिचान गरिएको छ । पहिचान गरिएका तालको संरक्षण र सम्वद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिने प्रदेश पर्यटन कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।

चुरे क्षेत्रमा अवस्थित तालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व भएकाले ती तालको संरक्षण र सम्वद्र्धनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । रासस