• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

खडेरीले सुक्न थाल्यो मकै



झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताउनुभयो । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” उहाँले भन्नुभयो, “तर, “सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्‍याउने सम्भावना छ ।”

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउनुहुन्छ । किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो । तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताउनुहुन्छ ।

झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ ।

मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन् । कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो ।

झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिँचाइ आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनाले खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याएको छ । झापा गाउँपालिकामा पाँच वर्षदेखि ‘मकै जोन’ लागू भएको छ । आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएकामा चालू आवमा मकैखेती विस्तार भएको छ । जिल्लामा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

झापा गाउँपालिकाको मकैजोनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ र उपकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ । पाँच सय हेक्टर जमिनमा भएको खेतीलाई मात्र जोन घोषणा गर्ने चलन छ । झापा गाउँपालिका र कनकाई नगरपालिकाले मकै मकै खेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलको ६० प्रतिशत रकम अनुदान दिँदै आएको छ ।

कृषिविज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउनुहुन्छ । खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उहाँको भनाइ छ । वर्षाका लागि भगवानसँग प्रार्थना गर्दै झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन् । अर्जुनधारा नगरपालिका–२ टाङटिङ खोलामा स्थानीय किसानले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन् । वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजासमेत हुने गरेको छ । रासस