• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा

सात हजार पशुपन्छीको उपचार



टीकापुर, (कैलाली) । कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो ।

आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत नि:शुल्क वितरण गरिएको थियो ।

टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८ भेडाबाख्रा, २४ बङ्गुर, एक हजार चार कुखुरा, नौ कुकुरको उपचार गरिएको छ । त्यस्तै टीकापुर–७ मा दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, तीन सय ४४ भेडाबाख्रा, १७ बङ्गुर, नौ सय ८३ कुखुराको उपचार गरिएको छ ।

जानकी–२ बडरियामा ६६ गाईभैँसी, छ सय ९३ भेडाबाख्रा, १५ बङ्गुर, दुई सय ७९ कुखुराको उपचार गरिएको छ । जानकी–६ जगतपुरमा एक सय ४९ गाईभैँसी, छ सय ४८ भेडाबाख्रा, ५४ बङ्गुर, एक हजार छ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी दिनुभयो ।

भारतीका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई भँैसी, तीन सय ५५ भेडा बाख्रा, चार सय ३२ कुखुरा, सात कुकुर बिरालाको उपचार गरिएको हो । “पाँचवटै स्थानमा गरी चार सय ६२ गाईभैँसी, दुई हजार पाँच सय ४२ भेडाबाख्रा, एक सय २२ बङ्गुर, चार हजार तीन सय ४२ कुखुरा हाँस र ४० कुकुर बिरालोको उपचार गरिएको छ”, उहाँले भन्नुभयो, “पशुपालक किसानलाई गाउँमै सेवा दिने उद्देश्यले उपचारका लागि विकट रहेका वडामा शिविर आयोजना गरेका हौँ । शिविरले किसानलाई धेरै लाभ भएको छ ।”

पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा छ सय २५ किसानले सेवा लिएका हुन् । आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपन्छीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको हो । कार्यक्रममा पशु चिकित्सक डाक्टर निराजन चौधरीसहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएका हुन् ।

पशु प्राविधिक भारतीले हरेक वडाका वडाध्यक्षसँगको समन्वयमा कार्यक्रम गरिएको, शिविर आयोजना गर्दा जनप्रतिनिधि र बडघरको सहयोगमा गाउँका किसानले स्थानीयस्तरमै सेवा पाएका बताउनुभयो । पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन् । टीकापुर–७ बेलुका किसान फुलराम चौधरीको सपना कृषि फर्म छ । उहाँले गाउँमै पशु स्वास्थ्य शिविर आयोजना भएपछि १० भैँसी र पाँच बाख्राको स्वास्थ्य परीक्षण गर्नुभयो ।

“समय समयमा यस्ता खाले शिविर आयोजना गर्नुपर्छ । मैले पनि गाउँमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको छ । पशुपन्छीमा समस्या भए टाढा टीकापुर लैजानुपर्ने समस्या हुन्छ, नभए निजी पशु प्राविधिक घरमै ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “यसरी गर्दा समय र खर्च महँगो हुन्छ । गाउँमै सेवा पाउँदा सबै किसान खुसी भएका छौँ ।” रासस