काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको छ ।
बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरिक्ष सम्मिलित मार्सल टिम गठन गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरुलाई खोजि खोजि कारबाही गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताउनु भयो । उहाँले आउँदो आईतवारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताउनु भयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले एउटा मार्सल टिम एक्शनमा जाने गरी दलालहरुलाई, ठगहरुलाई, तह लगाउने गरी हामीले मार्सल टिम गठन गरेका छौँ । त्यसको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने सर, सिआईबीको प्रहरी नायब उपरिक्षकहरु लगायतको एउटा मार्सल टिम खटिएका छौँ । विशेष गरी आज मार्सल टिमको काम जो पीडित भएर, दुःख पाएर दुबईबाट फर्किनुभएका भाइहरुको पनि वेदना, पीडा सुन्नेछौँ । कोमलराज उपाध्याय भन्ने जस्ता धेरै व्यक्ति यूएईमा छन् भन्ने सुन्नमा आएको छ । म यही मिडियाबाट कोमलराज उपाध्यायलाई भन्न चाहन्छु, यो बीचमा म एक्शनको रुपमा अघि बढेपछि भाईहरुलाई नेपाल पठाउनु भयो धन्यवाद छ । म तपाईलाई के पनि चेतावनी दिन चाहन्छु भने अब पानी मुनि गए पनि तपाईले गरेका अपराध छोडिँदैन । कि तपाईले आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकारेर झुक्याएर, ठगेर लगिएका नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई छिटो भन्दा छिटो नेपाल पठाउनुस् भन्न चाहन्छु । मान्छेबाट गल्ती हुनसक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ति छैन । तपाई लगायत यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरुलाई यो सरकारले छोड्नेवाला छैन ।’
त्यस्तै पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसेपनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो गरेका छन् । पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भएपनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए । पीडितहरुले त्यहाँ रहेको दुतावासले कुनैपनि सहयोग नगरेको गुनासो गरेकाछन् ।
पीडितहरुले आर्थिक श्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरुले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो गरेकाछन् । संयुक्त अरब इमिरेट्स ९यूएई० का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरि लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केहि दिन यता तातेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार ब्याबसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि ब्याबसायीहरुले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् ।











