२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिनेसहितका प्रदेशसभाका एजेन्डा तय गर्ने छ ।

नेकपा एकीकृत समाजवादीका नेता सोडारीलाई विश्वासको मत दिने गठबन्धन दल माओवादी केन्द्रले भने ह्विप नै जारी गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहँदा गठबन्धन दल नेकपा एमालेले भने अझै अनिर्णित छ । एमालेले सोडारीलाई विश्वासको मतका लागि नहतारिन भनेको छ ।

सोडारीलाई मुख्यमन्त्री बनाउन सुरुवाती दिनमै नेकपा एमालेले चाहेको थिएन । तर गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले बाध्य भएको हो । अहिले पनि सकेसम्म सोडारीलाई हटाएर गठबन्धन कसरी टिकाउन सकिन्छ भन्ने छलफलमा एमाले छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मतलगायतका विषयमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो ।

सुदूरपश्चिमका एमाले नेताहरु विश्वासको मत दिने गरी केन्द्रबाट कुनै निर्णय र निर्देशन नआएको बताउँछन् । एमालेले पनि कुनै निर्णय गरेको छैन । एमालेका नेताहरु भोलि मात्र विश्वासको मतका विषयमा निर्णय हुने बताउँछन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् । ‘उपनिर्वाचनमा एकीकृत समाजवादी र एमाले नेताहरूबिच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो तर उहाँहरू एमाले उम्मेदवारलाई नै हराउन लाग्नुभयो’, थापाले भने, ‘सहमति एउटा, काम अर्को भएपछि विश्वासमा सङ्कट थपियो ।’

यता नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका पाँच प्रदेशसभा सदस्यले पनि विश्वासको मत नदिने भएका छन् । रन्जिता श्रेष्ठ पक्षका दुई जनाले भने विश्वासको मत दिने तयारीमा छन् ।उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दासम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङ बाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ ।

यता विपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ ।