१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभयो ।

कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गर्नुभयो ।

नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो ।

“कतार नेपालको विश्वासिलो मित्रका रुपमा रहेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो सम्बन्ध प्रगाढ र विस्तार हुँदै गएको छ । यो सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित छैन, जनताको तहमा पनि विस्तार भएको छ ।” उहाँले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाईमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’

नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा शुद्ध पिउने पानीको पर्याप्त श्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना छ ।”

नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताउनुभयो ।

भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताउनुभयो ।

नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।” उहाँले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गर्नुभएको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचिमा नेपाललाई समावेश गर्न आग्रह गर्नुभयो ।

‘लुम्बिनी र पोखराबाट पनि उडान सञ्चालन गरौँ’

प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गर्नुभएको हो ।

“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुबै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

‘आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र’

प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करीब ४ लाख नेपालीहरू द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताउनुभएको छ । उहाँले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालीम र सीपविकास केन्द्रहरू स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।”

‘आर्थिक विकास नेपालको प्राथमिकता’

प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकशित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षाहरू पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्थाहरु वा अन्तराष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाहरूको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुसल रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

“आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।”

प्रधानमन्त्री प्रचण्डले थप भन्नुभयो, “यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।”

पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापना होस् भन्ने कामना गर्नुभयो ।